कर्णाली उज्यालो बनाउन सम्झौता

सुर्खेत : कर्णाली उज्यालो कार्यक्रमलाई कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबिच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उज्यालो कार्यक्रम कार्यान्वयन गर्न अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने केन्द्रका संयोजक दिपक पौड्यालले जानकारी दिए । उनले प्राविधिक सहयोगहरु भने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने जनाए ।

कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लाका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ । ति आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमवाट बजेट व्यवस्था गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जनाइन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको बताए ।

‘यसअघि राज्यको करोडौं बजेट लगानी भएका तथा केही आर्थिक तथा प्राविधिक सहयोगको अभावमा निर्माण हुन सकेनन्’ मुख्यमन्त्रीले भने, ‘आयोजनामा लगानी गर्दा राज्यले गरेको लगानी खेर नजाने र जनताले पनि छिटो उज्यालो पाउने भएकोले प्रदेश सरकार त्यस्ता आयोजनामा लगानी गर्न तयार छ ।’

कर्णाली उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिँदै मुख्यमन्त्री शाहीले कार्यक्रम कार्यान्वयनमा ढिलासुस्ती र लापरबाही नगर्न निर्देशन दिए । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि ५० करोड ९ लाख बजेट विनियोजन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लेखाअधिकृत विनोद प्रधानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया