सूचना विधेयकमा कांग्रेसको विरोध

सुर्खेत : सरकारले अघि सारेको सूचना प्रविधि विधेयकप्रति विरोध जनाउँदै नेपाली कांग्रेसले विरोधपत्र बुझाएको छ ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो । सुर्खेतसहित कर्णाली प्रदेशका १० जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाएका छन् ।

पार्टीको गत पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो । सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाइएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।

सुचना प्रविधि विधेयकले जनताको मौलिक हकमै प्रहार गरेको भन्दै सत्याउनु पर्ने माग सभापति रेग्मीको छ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए पाँच वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्मको व्यवस्था छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ ।
विधेयकमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधान समेत उल्लेख छ ।

तपाईको प्रतिक्रिया