सम्पादकीय : भ्रमण वर्ष र लगानी

कर्णाली पर्यटकका लागि मुख्य आर्कषक ठाउँ हो । यहाँको प्राकृतिक सम्पदा नै पर्यटकका लागि लोभ्याउने खालका छन् ।

कर्णालीलाई भर्जिन ल्याण्ड पनि भन्ने गरिन्छ । यसको एउटै कारण हो, यहाँको प्राकृतिक सम्पदा र रमणीय स्थानहरु । कर्णाली भौगोलिक रुपमा विकट भइकन पनि प्राकृतिक स्रोतको हिसावले भने समृद्ध नै छ । यहाँको मुख्य आम्दानीको स्रोत पनि पर्यटन व्यवसाय नै हुन सक्छ ।

तर आवश्यक पूर्वाधारको अभाव, लगानी नहुनु र प्रचारको कमीले गर्दा यहाँका महŒवपूर्ण पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन् । यही क्रममा सरकारले नेपाल भ्रमण वर्षको सुरुवात गरेको छ । कर्णालीमा पनि प्रदेश सरकारले निकै तामझामसहित भ्रमण वर्षको शुभारम्भ गरेको छ । जिल्ला र स्थानीय तहमा पनि भ्रमण वर्षको सुरुवात गरिएको छ ।

भ्रमण वर्षको मुख्य उदेश्य भनेकै पर्यटकलाई आकर्षित गर्नु हो । पर्यटकीय क्षेत्रको प्रचार गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिने लक्ष्य भ्रमण वर्षको छ । भ्रमण वर्षको सुरुवात हुनु राम्रो पक्ष हो । यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ । तर भ्रमण वर्षको जुन रुपमा शुभारम्भ भएको छ, त्यो केवल औपचारिकतामा सिमित देखिन्छ । अर्थात प्रचारमुखी बढी देखिन्छ ।

कर्णालीमा पनि भ्रमण वर्षको उद्घाटन निकै तामझाम नै भयो । सुर्खेतको मुख्य पर्यटकीय गन्तव्य बुलबुले तालबाट शुभारम्भ हुँदा हेलिकोप्टरबाट पुष्पबृष्टी नै गरियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु नै नाँचे । उद्घाटन कार्यक्रममा सरोकारवालाहरुको उपस्थितिले पनि भ्रमण वर्षको रोनकता धेरै देखियो । तर सरकारले जुन तामझामसहित भ्रमण वर्षको शुभारम्भ गरेको छ, त्यसले मात्र कर्णालीमा पर्यटक आउलान् भन्नेमा विश्वास गर्न सकिन्न ।

मञ्चमा नाचेर बोलाउँदैमा वा हेलिकोप्टरबाट पुष्पबृष्टी गर्दैमा पर्यटक आउँदैनन् । पर्यटकलाई भित्राउनका लागि सबैभन्दा पहिला पूर्वाधारमा लगानी आवश्यक छ । कर्णालीका मुख्य पर्यटकीय गन्तव्यका रुपमा रारा र फोक्शुण्डोमा राज्यको लगानी आवश्यक छ । अहिले पनि रारा तालसम्म पुग्ने सहज बाटो छैन ।

सडकको अवस्था राम्रो नहुँदा पर्यटकले चाहेर पनि जान सकेका छैनन् । न सडकमार्ग सहज छ, न त हवाइ सेवा नै प्रभावकारी छ । यस्तै पर्यटकलाई बस्न र खानका लागि पनि राम्रो व्यवस्था छैन ।कर्णालीलाई पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न जरुरी छ । यसका लागि सरकारले पहिला पूर्वाधारमा लगानी गर्न आवश्यक छ । पहिलो प्राथमिकतामा रारासम्म पुग्नेन सडकलाई कालोपत्रे गरे सँधै गाडी चल्न सक्ने बनाउन जरुरी छ । यस्तै अन्य पर्यटकीय स्थलसम्म पुग्नका लागि सडक र हवाइ सेवालाई प्रभावकारी बनाउन आवश्यक छ ।

यस्तै नीजि क्षेत्रलाई लगानीमा आकर्षण गरेर खान र बस्नका लागि उचित व्यवस्थापन गराउनु पर्दछ । यस्तै पर्यटकको सुरक्षा, उनीहरुको खर्च बढाउनका लागि आवश्यक कोशेलीको उपलब्धता, संचारको पहुँच र प्रचारलाई पनि ध्यान दिन जरुरी छ । यसो भएको खण्डमा मात्र कर्णालीले पर्यटन व्यवसायबाटै धेरै लाभ लिन सक्छ । अर्कोतर्फ पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि सांकेतिक चिन्नहरु पनि राख्न आवश्यक छ । पूर्वाधारमा लगानी गरेर मात्र पर्यटनबाट प्रदेशले लाभ लिन सक्छ ।

तपाईको प्रतिक्रिया