काँग्रेसले छान्यो राष्ट्रिय सभाका उम्मेदवार : कर्णालीमा सुर्खेतका पाठक र पौडेल उम्मेदवार

सुर्खेत: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभामा कर्णाली प्रदेशका लागि सुर्खेतका सावित्री पौडेल र डिल्लीराम पाठकलाई उम्मेद्वार बनाउने निर्णय गरको हो । पौडेल महिला र पाठक अन्यबाट उम्मेदवार बनेका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १६ जना उम्मेदवारको टुंगो लगाएको जानकारी दिए । काँग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्यबाट उम्मेदवार बनाएको छ ।

प्रदेश २ का दुई सिट समाजवादी पार्टीलाई छाडेको काँग्रेसले नगिना यादव (महोत्तरी) महिला र भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपांगताको कोटाबाट उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य र विमला गौचन (म्याग्दी) लाई महिला उम्मेदवार बनाएको छ ।

त्यस्तै प्रदेश ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके)अल्पसंख्यंक÷ अपांगताबाट उम्मेदवार बनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य र तुलसी देवकोटा (कैलाली)लाई महिला कोटाबाट उम्मेदवार बनाएको छ ।

उम्मेदवार छनौटका लागि कांग्रेसले प्रदेश अनुसार छुट्टाछुट्टै नेताहरुलाई जिम्मा दिएको थियो । नेताहरुको सिफारिश गरेकै नामलाई शनिबारको पदाधिकारी बैठकले पारित गरेको हो । सो बैठकमा वरिष्ठ नेता पौडेल पक्षघर भने उपस्थित नरहेको बताइएको छ ।

को हुन् पाठक ?

डिल्लीराम पाठक सुर्खेतका पुराना काँग्रेस नेता हुन् । उनको २०२० सालमा पञ्चपुरी नगरपालिका–४ बाबियाचौरमा जन्म भएको हो ।

विद्यार्थी जीवनमै राजनीतिमा होमिएका थिए उनी । २०३६ सालमा नेपाली काँग्रेसको भ्रातृसंस्था नेविसंघ क्याम्पस इकाई कमिटीमा राजनीति सुरु गरेको पाठक २०४० सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय प्रतिनिधि बनेका थिए ।

चारवर्ष विद्यार्थी राजनीतिमा विताएका पाठकले ४० सालपछि पूर्णरुपले पार्टी राजनीतिमा लागे । पार्टी राजनीति सुरु गरेपछि विभिन्न समयमा गरी तीन पटक महाधिवेशन प्रतिनिधि भए ।

२०३६ सालबाट नै पार्टीको क्रियाशिल सदस्यता लिएका पाठकले १५ वर्ष सुर्खेत जिल्लामा सह–सचिव पदमा रहेर काम गरेका छन् ।

को हुन् पौडेल ?

वीरेन्द्रनगर–११ धुलियाबिट निवासी सावित्री पौडेलले पनि विद्यार्थीबाटै राजनीति सुरु गरेकी हुन् । कक्षा १० मा पढ्दै गर्दा २०४७ सालमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई कमिटीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

सानैदेखि उद्घोषण (भाषण) गर्ने राम्रो दख्खल भएकी पौडेल करिव ५१ सालतिर महिला संघ सुर्खेतको उम्मेदवार बनेकी थिइन । २०४७ सालमा पार्टीको क्रियाशिल सदस्यता लिएकी पौडेल अहिले भने पार्टीको जिम्मेवारी पदमा छैनन् ।

तर नेपाली काँग्रेसले थालेका हरेक अभियानमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । पौडेलले २०५१ सालदेखि सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी सुर्खेतमा तीन कार्यकालय सभापतिको जिम्मेवारी निर्वाह गरी सकेकी छिन् ।

पौडेलद्वारा उम्मेदवार बन्न अस्विकार

यसैबीच नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि उम्मेदवारमा छनौट गरिएकी सावित्री पौडेलले भने उम्मेदवार बन्न अस्विकार गरेकी छिन् ।
उनले नेपालमा आदर्शको राजनीति नभएको भन्दै उम्मेदवार नबन्ने बताइन् ।

‘पार्टीले उम्मेदवारका लागि प्रस्ताव गरेको थियो, तर मैले निर्णय गरेकी थिइँन’ पौडेलले भनिन् ‘नेपालमा आदर्शको राजनीति छैन, म उम्मेदवार पनि बन्दिन ।’ आफूलाई राजनीतिमा रुची नै नभएको बताउँदै पौडेलले उम्मेदवारी फिर्ताका लागि पार्टीलाई जानकारी गराइ सकेको बताइन् ।

‘राजनीतिमा मेरो रुची हुनुप¥यो नि ?, उम्मेदवार बन्ने कि नबन्ने भनेर निर्णय गर्ने अधिकार मलाई मात्रै छ ?’  उनले भनिन्, ‘मिडियामा ल्याउनु पर्दैन, उम्मेदवार बन्दीन ।’ उनी निकट स्रोतका अनुसार पार्टीले चुनाव हारिन्छ भन्ने जान्दाजान्दै उम्मेदवार बनाएकाले उनी रुष्ट भएकी हुन् ।

आज मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि देशभर आज (आइतबार) उम्मेदवारको मनोनयन दर्ता गर्नेछन् । कर्णाली प्रदेशमा उम्मेदवारहरुले निर्वाचन कार्यालय सुर्खेतमा आज उम्मेदवारी दर्ता गर्दैछन् ।

कर्णालीमा दुई पदका लागि हुने निर्वाचमा नेपाली काँग्रेस र नेकपाले उम्मेदवार टुङ्गो लगाएका छन् । नेकपाले जाजरकोटका मायाप्रसाद शर्मा र सुर्खेतका सुमित्रा विसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले सुर्खेतकै सावित्रा पौडेल र डिल्लीराम पाठकलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारले पुस २५ मा निर्वाचन चिह्न पाएपछि निर्वाचन हुनुभन्दा ४८ घण्टापूर्व १० दिनको समयावधि प्रचारप्रसारका लागि पाउनेछन् । ६ वर्षे कार्यकालका लागि निर्वाचित सदस्यले फागुन २१ बाट पदबहाली सम्हाल्ने छन् । कानूनअनुसार म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन मण्डलमा प्रदेशसभाका सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ५८ र ४० जना प्रदेशसभा सदस्य गरी कुल एक सय ९८ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ । सदस्यका लागि माघ ९ गते निर्वाचन हुनेछ ।
देशभर दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति हुनेछ ।

तपाईको प्रतिक्रिया