जागिर खान दोस्रो पटक परीक्षा दिनु परेको छैन । राष्ट्रसेवक : धिरेन्द्रप्रसाद शर्मा

धिरेन्द्रप्रसाद शर्मा
उपसचिव (भेरीगंगा नगरपालिका)
शिक्षा सेवामा रहेर काम गर्दै आएका उपसचिव धिरेन्द्रप्रसाद शर्मा हाल सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत छन् । दैलेखको भगवतीमाई गाउँपालिका–७ मा बुवा देवीराम र आमा सीतला शर्माको कोखबाट २०३८ साल जेठ २६ गते जन्मिए । सुरुवातमा शिक्षकको भूमिकामा काम गरेका उनी विद्यालय निरिक्षक हुँदै हाल उपसचिवको जिम्मेवारीमा पुगेका हुन् । शिक्षक र शिक्षा प्रशासनमा कर्मचारीको जिम्मेवारी गरी २० वर्षे लामो अुनभव हासिल गरेका शर्माले आफ्नो व्यक्तिगत र पेशागत उतारचढावहरु यसरी साँटे ।

उमेर बढाएर एसएलसी परीक्षा

दुर्गम गाउँ र मध्यम किसान परिवारमा मेरो जन्म भयो । घरमा कान्छो सन्तान भएका कारण बाल्यकालमा सबैमा माया पाएँ ।

विद्यार्थी जीवनमा घरकै दाजुहरुले बाटो देखाउनुभयो । घरकै दुइवटा दाजुहरु शिक्षण पेशामा हुनुहुन्छ । उहाँहरुको प्रेरणा र सल्लाह अनुसारले अध्ययन निकै सहज भयो । सानैदेखी पढाइमा कहिले प्रथम त कहिले दोस्रो स्थान ल्याउँथे ।

औपचारिक शिक्षाको सुरुवात गाउँकै भैरव मावि थोराबाट सुरु गरेँ । कक्षा १ देखि ७ सम्म गाउँमै अध्ययन गरेँ । कक्षा ८ देखि एसएलसीसम्मको अध्ययन जनकल्याण मावि सेर्माकोटमा गरेँ । एसएलसी दिँदा १४ वर्षको थिएँ । ऊ बेला १४ वर्ष मै एसएलसी परीक्षा दिन पाउने व्यवस्था थिएन । जसले गर्दा उमेर बढाएर १६ वर्ष बनाएँ ।

२०५२ सालमा एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाको लागि सुर्खेत झरेँ । एसएलसीपछि दाजुहरुले जुन विषयमा कमजोर छस् त्यहीअनुसार अध्ययन गर भन्ने सुझाव दिनुभयो । म त्यो बेला अंग्रेजीमा निकै कमजोर थिएँ । दाजुहरुकै सल्लाहअनुसार सुर्खेत क्याम्पस (शिक्षा) मा अंग्रेजी विषय लिएर प्रविणता प्रमाणपत्र तह (कक्षा ११, १२) अध्ययन पुरा गरेँ ।

अंग्रेजीमा कमजोर भएकै कारण त्यसबेला मैले पढाइमा निकै मेहनत गर्नुप¥यो । कलिलैमा शिक्षक, २९ सय तलव कक्षा १२ उत्तीर्ण गरेपछि शिक्षक बन्ने अवसर आयो । दाजुहरु शिक्षक भएकै कारण मैले अन्य पेशा रोज्ने समेत आँट गरिन । १७ वर्षको उमेरमै रैनादेवी मावि टाटामाखुमा शिक्षक भएँ ।

निजी स्रोतमा २९ सय ७५ रुपैयाँ थियो । त्यो तलव पनि मैले पढाईमै खर्च गरेँ । टाटामाखुमा करिव एक वर्षको अनुभवपछि भैरव मावि खोर (बाल्यकालमा अध्ययन गरेको विद्यालय) मा पुगेर अध्यापन गराएँ । २०५८ सालमा ज्वाला मावि बेस्तडामा अंग्रेजी दरबन्दीमा नाम निकाल्न सफल भएँ ।
२०६३ सालमा शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी शिक्षक बने ।

त्यो समयमा बेला स्नातकको अध्ययन र अध्यापन सँगसँगै अगाडि बढाएँ । पाँचवर्ष अस्थायी र पाँचवर्ष स्थायी गरी १० वर्ष शिक्षण पेशा गरेँ । २०६८ सालमा शिक्षक सेवा आयोगले लिएको विद्यालय निरीक्षकको परीक्षामा उत्तीर्ण भएँ । त्यसपछि मेरो पहिलो पोष्टिङ जिल्ला शिक्षा कार्यालय जाजरकोटमा भयो ।

त्यहाँ पौने दुई वर्ष, जिल्ला शिक्षा कार्यालय सुर्खेतमा करिव साढे दुई वर्ष, जिल्ला शिक्षा कार्यालय दैलेखमा करिव साढे दुईवर्ष बसेर सेवा गर्ने मौका पाएँ । २०६९ को उपसचिवको परीक्षामा उत्तीर्ण भएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा रहेर काम गरेँ । कर्मचारी समायोजनपछि अहिले भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत छु ।

निरीक्षण गर्न कोही नआउँदा आफै निरीक्षक

निजी, अस्थायी र स्थायी कोटामा मैले करिव १२ वर्ष शिक्षक बनेँ । त्यो अवधिमा विद्यालय निरीक्षकको विषयमा बाम्बार सुने । तर मैले पढाएको कक्षालाई निरीक्षण गर्न कोही आएन ।

कक्षा निरीक्षण गरेपछि शिक्षकको पदोन्नती गर्ने, विद्यालयको शैक्षिक गुणस्तर जाँच गर्ने भनेर बारम्बार सुने पनि कक्षा निरीक्षण गर्न कोही नआएपछि मलाईं भित्रैबाट विद्यालय निरीक्षक बन्छु भन्ने लाग्यो । यही इच्छा शक्तिले २०६८ सालमा पहिलो पटक परीक्षा नै विद्यालय निरीक्षक भएँ ।

अनुभव संगाल्दै, छलाङ् मार्दै

मैले जागिर खानकै लागि भनेर राम्रोसँग अध्ययन गर्ने मौका पाइँन । किनकी कक्षा १२ पछि जागिर र पढाइलाई सँगसँगै अगाडि बढाएँ । अध्यापनको अनुभवबाटै स्थानीय शिक्षकमा उत्तीर्ण भएँ ।

शिक्षककै अनुभवले विद्यालय निरीक्षक बनेँ । विद्यालय निरीक्षकको अभुवले नै उप–सचिवमा उत्तीर्ण भएको हुँ । उपसचिव परीक्षा दिँँदा दश दिनमात्रै अध्ययन गर्ने मौका मिलेको थियो । स्यायी शिक्षक हुँदा, विद्यालय निरीक्षक र उप–सचिवको परीक्षामा पहिलो पटकमा नै उत्तीर्ण भएको हुँ ।

आजसम्म दोस्रो पटक परीक्षा दिनु परेको छैन । इन्टर कटाएर मावि र ब्याजलर कटाएर उच्च मावि सम्मलाई अध्ययापन गराएँ । योग्यताभन्दा माथिल्लो कक्षामा पढाउने गरेको आँटले नै मलाईं सफल बनायो । यही आँट र साहका कारणले धेरै अनूभवि गर्ने मौका पाएँ । म त अनुभवबाटै यहाँसम्म आइपुगेको हुँ ।

परिवारका तीन जनाले एकैपटक एसएलसी दिँदा…

दुर्गममा जन्मिए पनि म शिक्षित परिवारभित्र जन्मिएको थिएँ । परिवारका सबै सदस्यले जसरी पनि अध्ययन गर्नुपर्छ भन्ने थियो । रोचक कुरा पढ्दै जाँदा एउटै घरका तीन जनाले सँगै एसएलसी पास गर्ने अवसर मिल्यो ।

ऊ बेलाको एसएलसी पास हुन ठूलो मेहनत गर्नुपथ्र्याे । दिदी र दाजु केही समय एसएलसीमा रोकिनुभयो । जसले गर्दा २०५४ सालमा तीन दाजुभाईले सँगै एसएलसी पास ग¥यौं ।

जुनक्षण जीवन सधै यादमा आइरहन्छ । तर दुःखको कुरा त्यही समयमा चट्याङ लागेर हामीले जन्मदिने आमालाई गुमाउनु प¥यो । अध्ययनका क्रममा सात कक्षासम्म एउटा पनि छात्राहरु थिएनन् ।

कक्षा कोठामा छात्राहरु शून्य भएको घटना सम्झनामा आइरहन्छ । २०६३ सालमा स्थायी शिक्षक, २०६८ सालमा विद्यालय निरीक्षक र २०७५ सालमा उप–सचिवमा पहिलो परीक्षामा उत्तीर्ण हुँदा जीवनमा निकै खुशीको महशुस गरेको थिएँ ।

शिक्षामा राजनीति नहोस्

शिक्षा क्षेत्र पहिलेदेखि नै राजनीतिक हस्पक्षेप हुने क्षेत्र हो । अहिले पनि सबैभन्दा बढी राजनीतिक हस्तक्षेम शिक्षा क्षेत्रमै छ । परिणामतः राजनीति र प्रशासनबीचको द्वन्द्ध नै निम्तिएको छ ।

शिक्षा क्षेत्रबाट सुरु भएको राजनीतिक हस्तक्षेप सार्वजनिक सेवाको बाधक बनेको छ । अहिलेको सन्दर्भमा कर्मचारीले गर्नुपर्ने काम राजनीतिज्ञ र राजनीतिज्ञले गर्नुपर्ने काम कर्मचारीले गरिरहेका छन् । कारण राजनीति र प्रशासनको बीचमा नेपाल फसेको छ ।

राज्यको सम्पूर्ण कार्यान्वयन संयन्त्र भनेको कर्मचारीतन्त्र हो । तसर्थ जबसम्म कर्मचारितन्त्र बलियो हुँदैन, तबसम्म जनताको सार्वजनिक सेवा प्रभावकारी बनाउने कुरा सपना मात्रै हुन्छ । राजनीतिले मात्रै देश परिवर्तन सम्भव छैन ।

तसर्थ राजनीति जहिले पनि प्रजातान्त्रीक र कर्मचारीतन्त्र निरंकुस हुन जुरुरी छ । जसका लागि सरकारले अब बनाउने राज्यका नीति नियमहरु सुधार हुनुपर्छ । यदी सरकारले सार्वजनिक सेवा प्रवाह बलियो बनाउने हो भने कर्मचारी समायोजनामा भएको गल्ती सच्याउनु पर्छ ।

समायोजनले स्थानीय र प्रदेशमा काम गर्ने कर्मचारीहरुको मनोबल गिरेको छ । राज्यले कर्मचारीहरुलाई जागिरमुखी प्रवृतिमा लाग्न बाध्य बनाएको छ । कर्मचारीलाई जबरजस्ती समायोजन गरिएको छ । कर्मचारीले आफ्ना सन्ततीलाई हुर्काउन र शिक्षा दिन सक्नेगरी राज्यले सेवासुविधा दिनुपर्छ । कर्मचारीहरुले पनि आफ्नो प्रवृत्ति बदल्न जरुरी छ ।

कर्मचारीको नामको अगाडि डाक्टर लेखेर घुस लिने प्रवृतिको अन्त्य हुनुपर्छ । नेपाल भ्रष्टाचारको एक सय २४ सौं समेटिनु कर्मचारीका लागि लाजमर्दाे कुरा हो । अझ डाक्टर लेख्ने व्यक्तिहरु नै घुससहित पक्राउ पर्नुले कर्मचारीतन्त्रलाई झन लज्जित बनाउँछ ।

जागिर सकिए पनि शिक्षाको सुधारमै खटिनेछु

मेरो जागिरको अवधि धेरै नै बाँकी छ । अहिले नै अवकासपछि गर्ने ठोस योजना बनाएको छैन । तर मेरो योग्यता र प्रमाणहरुले शिक्षा क्षेत्रमै लागिराख्नुपर्छ भन्छ ।

यसर्थ अवकासपछि पनि म शिक्षा क्षेत्रकै सुधारका लागि लाग्नेछु । सरकारका नीति, नियम अवकास पछिका कर्मचारीहरु लाई थिङ्कट्याङ्क बनाउनुपर्छ भन्छ । तर व्यवहारमा त्यो लागु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया