ताजा खबर
  

स्थानीयले बनाए स्कूलको भवन

हुम्ला : हिमपातका कारण हुम्लामा चिसो अत्याधिक बढेको छ । तापक्रम माइनसमा पुगेको छ । तर उत्तरी हुम्लाका बासिन्दाले विद्यालय भवन बनाउन भने रोकेनन् ।

निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएपछि स्थानीय समुदायले चिसो नभनी दुई कोठे विद्यालय भवन बनाएका हुन् । सिमकोट गाउँपालिका वडा नम्बर ३ को बरगाउँमा रहेको रलिङ माविका लागि दुई कोठे भवनको निर्माण कार्यको जिम्मा समुदायलाई दिइएको थियो ।


उनीहरुले हिमपात भइरहे कै अवस्थामा पनि काम रोकेनन् र त्यसकै परिणाम स्वरुप भवन निर्माण सम्पन्न भएको स्थानीय बहादुर लामाले बताए । हुम्लामा विकासे कामहरु हिउँदमा हिमपात कारण रोकिने गरेका छन् । तीन महिना अगाडि निर्माणको जिम्मा समुदायले पाएकोमा कामको सिजन सकिएपछि निर्माण कार्य सुरु गरिएको थियो । तर छोटो अवधिमा निर्माण समितिले भूकम्प प्रतिरोधी भवन निर्माणका गरेको हो ।

भवनका लागि ३४ लाख ७३ हजार ५९८ रुपैयाँ लागत लागेको छ । त्यसमध्ये २१ लाख ६३ हजार ५९८ रुपैयाँ गुड नेवर्स इन्टरनेस्नल नेपाल (जीएनआई) को सहयोग हो भने ११ लाख १५ हजार एलजियु र एक लाख ९५ हजार स्थानीय समुदायको जनश्रमदान रहेको जिएनआई जिल्ला संयाजक वीरेन्द्र चौधरीले बताए ।



ताजा समाचार