सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

आक्रमणबाट बराहताल गाउँपालिका–३ लेखगाउँकी चन्द्रा नेपालीको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै बख्रालई घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो ।


‘बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको छ’ स्थानीय जयराम बोगटीले बताए, ‘आक्रमणपछि चिच्याउँदा हामीले थाहा पायौं, घटनास्थल पुग्दा नेपालीको मृत्यु भइसकेको थियो ।’

आक्रमण लगत्तै उद्धारका लागि स्थानीयहरु पुगेपनि नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयको भनाइ छ ।