लिफ्ट प्रविधिमार्फत खानेपानी समस्या हट्यो

दैलेख : दैलेखको सिमानामा रहेको पञ्चदेवल नगरपालिका–५ आलीगाउँका दलित परिवारले वर्षौंदेखिको दूषित पानी खानुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।

कर्णाली नदी किनारमा रहेका ५४ घर दलित परिवारले पुस्तौंदेखि कर्णालीको पानी प्रयोग गर्दै आएका थिए । नदीको दूषित पानी प्रयोग गर्दा रोगको संक्रमण हुने गरेको थियो । २९८ जनसंख्या रहेको उक्त गाउँमा लिफ्ट प्रविधिमार्फत खानेपानी पु‍¥याएपछि वर्षौंदेखिको समस्याबाट छुटकारा पाएका छन् ।

‘आली गाउँलेले कर्णालीको पानी पिउनुपर्ने बाध्यता हट्ला भन्ने लागेकै थिएन,’ ६३ वर्षीया सितारा भुलले भनिन्, ‘हामीले कर्णालीको पानी खाएर नै यो उमेर गयो । शुद्ध खानेपानीको कल्पनै थिएन। अहिले घरमै शुद्ध खानेपनी आएपछि सजिलो भएकोे छ ।’

सामाजिक सेवा केन्द्रअन्तर्गत साकार परियोजना र पञ्चदेवल विनायक नगरपालिकाको २७ लाख ४१ हजार र समुदायको एक लाख ३१ हजार रुपैयाँ गरी २८ लाख ७५ हजार रुपैयाँ लगानीमा लिफ्ट प्रविधिमार्फत खानेपानी ल्याइएको हो । टोलमा आठवटा धारा निर्माण गरिएको साकार परियोजनाका माधव भट्टराईले बताए । यस परियोजना सफल भएपछि गाउँका अधिकांश तरकारी खेती गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया