ट्राफिक व्यवस्थापन

पहिले जनघनत्व कम थियो । सवारी साधनको चाप पनि कम नै थियो । पूर्वाधारको विकास, सुविधाको उपलब्धता र राजनीतिक परिवर्तनले वीरेन्द्रनगर सबैको आकर्षणको केन्द्र बन्दै गएको छ ।

पछिल्लो पटक कर्णाली प्रदेशको राजधानी बनेपछि वीरेन्द्रनगरमा मानिसहरुको आगमन बढेको छ । योसँगै यहाँ चहलपहल हुने नै भयो । मानिसहरु थपिएसँगै सवारी साधनको संख्या पनि बढेको छ । सवारी साधन र जनसंख्या त बढ्यो । तर त्यही अनुसार यहाँका सडक मर्मत र विस्तार हुन सकेनन् । बजार व्यवस्थापनको गुरुयोजना पनि कार्यान्वयन हुन सकेन ।

यसैको परिणाम अहिले वीरेन्द्रनगरमा सवारी साधनको व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधनको चापका कारण दुर्घटनाको जोखिम पनि बढेको छ । मुख्य बजार क्षेत्रमा त पैदल यात्रुलाई आउजाउ गर्न समस्या भइरहेको छ । अर्कोतर्फ व्यवस्थित पार्किङ्गस्थल नहुँदा सडकमै गाडी पार्किङ गर्ने गरिएको छ । निर्माण भएको बसपार्क संचालनमा नआउँदा गाडीहरु जहाँतहीँ राख्ने गरिएको छ । यसकारण पनि वीरेन्द्रनगरमा सवारी साधनको व्यवस्थापनमा चुनौती बढ्दै गएको छ ।

सवारी साधनका कारण सडकमा र बजार क्षेत्रमा जाम बढेपछि यसको विकल्पबारे पनि बहस हुन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागेको छ । बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकमा अब (वान वे) अर्थात एकतर्फी मात्र गाडी संचालन गर्न पाइने निमय लागू गर्ने तयारी ट्राफिक प्रहरीको छ । कर्णाली प्रदेशको राजधानी भएपछि वीरेन्द्रनगरमा सार्वजनिक पार्किङ्गस्थल छैनन् ।

पार्किङ्ग स्थलको अभावले वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त छ । सडक किनाराको एक छेउमा ट्राफिक प्रहरीले दुइ पाङ्ग्रे सवारी पार्किङ्ग गरेर जेनतेन व्यवस्थापन गरिरहेको छ । बढ्दो सवारी साधनको चाप र सडकमै पार्किङ्ग गर्दा दोहोरो सवारी आवागमनमा समस्या भइरहेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखी गणेशचोकसम्म सवारी आवतजातमा निकै सास्ती भइरहेको छ । बजार क्षेत्रका भित्री सडक यरिचोक–वीरेन्द्रनचोक, नेताचोक–बुद्धपथ लाइन, घण्टाघर र हटिया लाइनमा सवारी साधनको बढी चाप हुन्छ ।

पहिलो चरणमा मंगलगढीदेखी वीरेन्द्रचोकसम्मको मुख्य बजार क्षेत्रमा पर्ने सडकमा एकतर्फी मात्र (वान वे) सवारी साधन आवतजावत गराउने तयारीमा ट्राफिक प्रहरी जुटेको हो । यसले दुर्घटना कम हुने र सवारी साधनको जाम पनि कम हुनेछ । तर सुर्खेतमा ट्राफिक नियमबारे धेरैलाई जानकारी नै छैन । सडकमा जेब्राक्रस राखिए पनि नागरिकले त्यसको पालना गरेका छैनन् । नियम लागू गर्नु र त्यसलाई कार्यान्वयन गर्न खोज्ने प्रयास सकारात्मक छ ।

अब सबैभन्दा पहिला सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी दिन आवश्यक छ । केही हदसम्म जानकारी नहुँदा पनि नियम पालना नभएको अवस्था छ । अर्कोतर्फ नगरपालिकाले आवश्यकता अनुसार पार्किङ्गस्थल तोक्नु पर्दछ । निर्माण भएको बसपार्क तत्काल सञ्चालनमा ल्याउनु पर्दछ । साँघुरा सडकलाई विस्तार गर्दै भत्किएका सडकको मर्मत गर्न सकेकमा पनि दुर्घटना न्यूनिकरणमा टेवा पुग्नेछ । बढ्दो सवारी साधनको दुर्घटना, जाम र अस्तव्यस्तालाई हटाउन ट्राफिक नियमलाई कडाइका साथ लागू गराउनेतर्फ प्रहरी अग्रसर हुनु पर्दछ । यो अभियानलाई सबैले साथ दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया