ताजा खबर
  

चौकुने महांयज्ञमा १ करोड ५५ लाख आम्दानी

 

सुर्खेत : चौकुने समृद्धिको आधार प्राविधिक शिक्षाको पूर्वाधार भन्ने मुल नाराका साथ कात्तिक २२ देखि २९ सम्म सञ्चालन भएको महांयज्ञमा १ करोड ५५ लाख ९० हजार ९ सय ४४ दान संकलन भएको छ ।

शुक्रवार चाैकुने गाउँपालिका वडा नं‍ ८  गुटुमा महांयज्ञ मूल आयोजक समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पत्रकार सम्मेलन कार्यक्रममा समितिले आयव्य प्रस्तुत गरेको हो ।

महांयज्ञको आयव्यय प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष कमल जिसीले प्रस्तुत १ करोड ५५ लाख ९० हजार ९ सय ४४ आम्दानी मध्य २१ लाख ४६ हजार एक सय ९७ रुपैयाँ खर्च भएको जानकारी दिए । जम्मा दान मध्ये नगद २९ लाख ३७ हजार ६ सय ८४, चेकबाट ९१ लाख ९९ हजार ७ सय र ३४ लाख ५४ हजार २ सय ३५ उठ्न बाँकी रहेको बताए । उठ्न बाँकी रकम यहि माघ भित्र बैंकमा जम्मा भइसक्ने कोषाध्यक्ष जिसीको भनाई छ । चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुनेमा कृषि क्याम्पस र वनविज्ञान क्याम्पस स्थापना गरिने बताए ।

 


 

 

‘चौकुनेमा हामी दुईवटा क्याम्पस स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं,त्यसका लागि गाउँपालिकाले पनि विशेष पहल गरेको छ ।’  उनले भने, कृषि क्याम्पसका लागि गुटुमा महांयज्ञ र गाउँपालिका बाट उठेको रकम जग्गा खरीद र अन्य संरचनामा लगानी गरिनेछ र वनविज्ञानका लागि गाउँपालिकाको गाउँसभाबाटै निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

गाउँपलिकाले दुई वटै क्याम्पसलाई प्राथमिकताका साथ अगाडि बढाउने र त्यसमा विभिन्न भ्रममा नपर्न समेत उनले अनुरोध गरेका थिए । कृषि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहन बडुवालले २ हजार ८७ जना दानदातहरुलाई महान कार्यका लागि धन्यवाद दिंदैे क्याम्पसको जग्गा र अन्य संरचनाका लागि तत्काल पक्रियागत ढंगबाट काम भइरहेको बताए ।

कृषि विज्ञान क्याम्पसका लागि स्थानीय, प्रदेश तथा संघ सरकार संग समन्वय गरी अगामी सैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी तयारी भएको उनले बताए । महांयज्ञ मुल आयोजक समितिका संयोजक एवंम् वडा नम्वर ७ का अध्यक्ष अमर बहादुर बुढा क्षेत्रीका अनुसार ५८ रोपनी जग्गा किन्ने तयारी भइरहेको छ भने ४० बिगाह जग्गा धामीडाँडा सामुदायिक वनले दान गरेको छ ।

कार्यक्रममा दानदाता, स्थानीय नागरिक राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।



ताजा समाचार