नक्कली पाठ्यक्रम

 

देश संघीय संरचनामा गएपछि अधिकार पनि विकेन्द्रीकरण भयो । आफ्नो शासन आफैले गर्ने कसरत भइरहेको छ ।

राजनीतिक अधिकारमा मात्र होइन, अन्य अधिकारमा पनि संघीयताको अभ्यास हुन थालेको छ । शिक्षा क्षेत्रमा पनि यसको अभ्यास भइरहेको छ । तर कतिपय अवस्थामा अधिकारको नाममा गलत अभ्यासहरु पनि भएका छन् । नयाँ शासन व्यवस्थामा प्रवेश गरेसँगै स्थानीय सरकारलाई शिक्षामा विशेष अधिकार प्राप्त भएको छ ।

जसमध्ये स्थानीय तहले अब आफ्नै पाठ्क्रम निर्माण गरेर विद्यालयमा लागू गर्न सक्छन् । जसलाई स्थानीय पाठ्यक्रम पनि भनिएको छ । तर स्थानीय पाठ्क्रमको मर्मविपरित स्थानीय तहले आफूखुशी पाठ्यक्रम निर्माण गरेर पढाइरहेका छन् । कतिपय स्थानीय तहले त स्थानीय पाठ्यक्रमको नाममा अंग्रेजी विषय र भाषा पढाइरहेका छन् । यसले जुन उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न खोजिएको हो, त्यसको विपरित अभ्यास केही स्थानीय तहमा भइरहेको छ ।


यसले अधिकारको नाममा गलत काम भइरहेको छ भने कतिपयले स्थानीय पाठ्यक्रमको बारेमा जानकारी नै पाएका छैनन् । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका अनुसार स्थानीय तहले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्छन् । स्थानीय आवश्यकता, स्रोत, ज्ञान र सीपको आधारमा निर्माण हुने उक्त पाठ्यक्रम आधारभुत तहमा लागू गर्न सकिन्छ । स्थानीय आवश्यकताका आधारमा स्थानीय ज्ञान र सीपबाट निर्माण गरिएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो ।

यो पाठ्यक्रम स्थानीय नागरिकको अपनत्व हुनेगरी सरोकारवालाले स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटेर विकास गर्दछन् । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नविनतम ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन सहयोग गर्दछ । यस्तो पाठ्यक्रमले स्थानीय स्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ । स्थानीय पाठ्यक्रम शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किला पनि हो । नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्वन्धी हकमा प्रत्येक नागरिकलाई मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वद्र्धन र संरक्षण गर्ने हक हुने उल्लेख छ ।

तर यहाँका विद्यालयमा अहिले स्थानीय पाठ्यक्रमको नाममा अंग्रेजी घोकाउने काम गरिरहेका छन् । यसरी प्राथमिक विद्यालयमा पढ्ने बालबालिकालाई सानैदेखी अंग्रेजी विषय पढाउनु घातक हो । किनकी अंग्रेजी पढाउने वहानामा स्थानीय भाषालाई नै अपहेलना गरिएको छ । यसले स्थानीय भाषा नै हराउने खतरा छ । दोस्रो भाषा सिकाउनका लागि पहिलो भाषा राम्रोसँग बुझाउनु पर्छ । तर अंग्रेजी भाषा पढाउने होडवाजीले बालबालिकाहरुले न अंग्रेजी राम्रोसँग सिक्न सकिरहेका छन्, न त स्थानीय भाषामा नै अब्बल छन् । यसकारण स्थानीय पाठ्क्रमको नाममा नक्कली पाठ्यक्रम लागू भइरहेको छ । यसलाई तत्काल रोक्नु पर्दछ । यहाँको माटो सुहाउँदो, स्रोतको सदुपयोग हुने खालको, प्रचलित भाषा र संस्कृतिको संरक्षण हुने खालको पाठ्यक्रम निर्माण गर्नेतर्फ स्थानीय तहहरुले ध्यान दिन आवश्यक छ । अंग्रेजी मोहका कारण नक्कली पाठ्यक्रम निर्माण गर्ने काम बन्द हुनु पर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार