महिला भलिबलमा खोसिएको त्यो स्वर्ण

काठमाडौं ।
नेपाल ! नेपाल !! नेपाल !!!, करिब एक हजारभन्दा धेरै दर्शक रहेको त्रिपुरेश्वर कभर्डहलबाट दिउँसो ३ बजे आएको आवाज हो यो । दर्शकमा स्वर्णको उत्साहसँगै खेलाडीहरु पनि नेपाललाई ऐतिहासिक स्वर्ण जिताउन आतुर थिए । घरेलु मैदानमा समर्थकको हौसला त्यसमाथि बलियो प्रतिद्वन्द्वी भारत । महिला भलिबल इतिहासमा पहिलोपटक फाइनल भिड्दै थियो नेपाली टोली । मंगलबार स्वर्णको लक्ष्य लिएको नेपाली टोलीको सपना पाचौँ सेटमा पुग्दा पूरा हुन सकेन ।

भारतविरुद्ध जितको लक्ष्य बोकेको नेपाल फाइनल खेलमा ३–२ सेटमा पराजित हुन पुग्यो । उसो त भारतलाई लगातार दुई सेट जितेको नेपाली महिला भलिबल इतिहासमा पहिलोपटक हो । नेपाली टोलीको लक्ष्य भारतलाई दुई सेटमा मात्र हराउनु थिएन ।

“श्रीलंकालाई हराउँदै हामीले रजत पदक जितिसकेका थियौँ । हाम्रो लक्ष्य रजत पदक मात्र थिएन । घरेलु मैदानमा भारतलाई हराउँदै ऐतिहासिक स्वर्ण पदक जित्ने हाम्रो लक्ष्य थियो । हाम्रो तयारी पनि त्यही नै थियो,” नेपाली टोलीकी कप्तान अरुणा शाहीले भनिन् ।

अरुणा भर्खरै नेपाली टोलीकी कप्तान भएकी हुन् । उनले एभीसी सेन्टर जोनमा नेपाली टोलीको कप्तानी गर्दै स्वर्ण पदक जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन् । अरुणा नेपाली महिला भलिबलमा निरन्तर एकैनासको प्रदर्शन गर्ने खेलाडीमा पर्छिन् ।

“हातमै आएको स्वर्ण खोसिदा नराम्रो अनुभूति हुने रहेछ । अझ घरेलु मैदानमा हजारौँ दर्शकलाई खुसी बनाउन नपाउँदाको पीडा बेग्लै छ । भारतलाई हराउँदै स्वर्ण जितेको भए आफ्नो कप्तानीमा पनि धेरै खुसी मिल्ने थियो । मेरो कप्तानीमा म सफल भएको अनुभूति गर्थेँ अझ स्वर्ण जिताउन पाए पूर्ण रुपमा सफल भएको जस्तो हुनेथियो त्यो धोको पूरा हुन सकेन,” अरुणाले दुःख पोखिन् ।

नेपाली टोलीले स्वर्ण जित्न नसक्दा दर्शकदीर्घाको माहोल पीडादायी थियो । अझ त्योभन्दा धेरै पीडा खेलाडीमा थियो । घरेलु मैदानमा नै स्वर्ण जितेर देशको शीर उच्च बनाउने धोको कुन खेलाडीमा हुँदैन र ? दर्शकदीर्घामा भलिबल समर्थक मात्र थिएनन्, उपराष्ट्रपति, खेलकुद मन्त्री, सांसद, सदस्य सचिवलगायत खेलाडीको हौसलाका लागि बसेका थिए ।

“स्वर्ण जित्न नसकेको पीडा अझै मनमा छ । उसो त हाम्रो प्रदर्शन खराब भने भएको होइन । लगातर दुई सेट जित्दा हामीले चौथो र पाचौं सेटमा सोही अनुसार प्रदर्शन गर्न सकेनौं । चौथो सेट हार्दा अन्तिम सेटमा हाम्रो सर्भिस बिग्रन गयो । हातमै आएको स्वर्ण खोसिँदा जो कोहीलाई पीडा हुन्छ । हामी त झन घरेलु मैदानमा थियौँ । सबै दर्शकले हामीबाट धेरै अपेक्षा गरेका थिए । जो सफल हुन सकेन । ऐतिहासिक रजत जित्दा बेग्लै अनुभूति भएको छ । तर, स्वर्ण जिताउन नसक्दाको पीडा पनि छ,” टिमकी सदस्य रेश्मा भण्डारीले भनिन् ।

रेश्मा मात्र होइन त्यहाँ सहभागि सबै खेलाडीको आँखामा आँशु देखिन्थ्यो । सबैको आँखामा स्वर्ण खोसिँदाको पीडा थियो । प्रतिस्पर्धात्मक पहिलो सेट गुमाउँदा नेपाली टोली धेरै कमजोर भने बनेको थिएन । जति कमजोर दोस्रो र तेस्रो सेटमा जित निकाल्दै अन्तिम दुई सेटमा पराजित हुँदा भयो ।

“अन्तिम दुई सेटमा हाम्रो सर्भिस नराम्रो भयो । पाँचौ सेटमा जित्नैपर्ने दबाब थियो । रिसिभ पनि बिग्रियो । लगातार पाँच अंक पछि पर्दा कमब्याक गर्न नपाउँदै उनीहरुले अग्रता बनाइसकेका थिए । अहिलेसम्म हातमा आएको स्वर्ण खोसिएको अनुभूति भैरहेको छ,” टिमकी सदस्य सरस्वती चौधरीले भनिन् ।

नेपालले जितेको रजत पदक पनि ऐतिहासिक हो । भारतसँगको खेलमा एक सेट पनि जित्न नसकेको नेपालले पहिलो पटक लगातार दुई सेटमा जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया