विद्यार्थीका गुनासा सुन्दै : उपप्रमुख ढकाल

सुर्खेत : विद्यार्थीका समस्या बुझ्न वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल कक्षा कोठा पुग्न थालेकी छन् । वीरेन्द्रनगर १० मा रहेको जनसेवा माध्यमिक विद्यालय घुस्रा पुगेर बुधवार उपप्रमुख ढकालले विद्यालय र विद्यार्थीका समस्या बुझेकी हुन् ।

ढकालले जनप्रतिनिधि तथा स्थानीय सरकारका बारेमा जानकारी गराउँदै आएकी छन् । जनप्रतिनिधी र सरकार भनेपछि फरक खालको बुझाई अहिले पनि अभिभावक र विद्यार्थीमा रहेकोले हटाउन आफु स्वंयम् कक्षा कोठामा पुगेको ढकालले बताइन् । कार्यक्रमले शिक्षा क्षेत्रको योजना तर्जुमा लगायतका विषयमा सहज हुने विश्वास उनको छ ।
विद्यालयमा पुगेर जनप्रतिनिधी, स्थानीय सरकारका बारेमा विद्यार्थीको बुझाई, स्थानीय सरकारसँग विद्यार्थीका अपेक्षा जस्ता विषयमा छलफल गर्दै आएको ढकालको भनाइ छ ।


बालविवाहबाट हुने नकारात्मक प्रभाव, निर्वाचन प्रणाली, सरकार गठनका प्रक्रिया, तीन तहका सरकार, विकासका आधार तथा प्रकार जस्ता विषयमा विद्यार्थीसँग छलफल गरिएको उप–प्रमुख ढकालले जानकारी दिइन् । उपप्रमुख ढकालले कक्षा १०, ११ र १२ का कक्षाका झण्डै एकसय ५० जना छात्रछात्रासँग विभिन्न विषयमा छलफल गरेकी थिइन् । छलफल पश्चात विद्यार्थीहरुले उपप्रमुख ढकालसँग पुस्तकालय, गुणस्तरिय शिक्षा, छात्रामैत्री संरचना, बालविवाह, बालबालिका र शिक्षा क्षेत्रको बजेट कति छ जस्ता प्रश्न गरेका थिए । ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम बनाएर उपप्रमुख विद्यालय पुग्दा विद्यार्थीहरु भने उत्साहित भएका थिए । उपप्रमुख आफ्नै कक्षामा आएर आवश्यकताका बारेमा सोध्दा खुशी लागेको विद्यार्थीले बताए ।

विद्यार्थीहरुसँग नगरपालिकाबाट हुन सक्ने आवश्यक सहयोग तथा विद्यार्थीहरुले स्थानीय सरकारसँग गरेका अपेक्षाका बारेमा ढकालले जानकारी लिएकी थिइन् । उनले विद्यालयमा के गर्दा पठनपाठनमा सहज हुन्छ, पाठ्यक्रम कस्ता खालका बनाउन आवश्यक छ र अध्यापन गराउदा शिक्षकले गर्ने व्यवहार लगायतका विषयमा पनि विद्यार्थीहरुसँग बुझेकी छन् ।

ढकालले विद्यार्थीहरुले आफूसँग राखेका मागहरु पूरा गर्न स्थानीय सरकारकातर्फबाट भरपूर भूमिका खेल्ने विद्यार्थी समक्ष प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमअन्तर्गत ढकाल प्रत्येक महिना निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीसँग छलफल कक्षा सञ्चालन गर्दै आएकी छन् ।



ताजा समाचार