इतिहासकारको दृष्टि नपुगेको राजकाँडा दरबार

यज्ञकुमार पोखरेल (लेखकः वीरेन्द्रनगर–९, सुर्खेत निवासी हुन् ।)

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लामा ‘सिम्ता’ नामक गाउँपालिका पर्दछ ।

यो सिम्ता गाउँपालिका सुर्खेत जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्दछ । सुर्खेत जिल्लाकै सबैभन्दा पूरानो वस्ती मध्येको एक सिम्ता दराको वस्ती पर्दछ ।

हालको सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा सिम्ता दरामा पर्ने साविकका घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रीचौर, डाँडाखाली र खानीखोला सहितका आठ गा.वि.स.हरु पर्दछन् । वि.सं. २०७३ फागुनमा स्थापना भएको कुल नौं वटा वडामा विभाजित यस गाउँपालिकाको क्षेत्रफल २४१.६४ वर्ग किलोमिटर रहेको छ ।

साविकका अन्य गा.वि.स.बाट एक एक वडा बनेका छन् भने बजेडीचौर गा.वि.स.बाट मात्रै दुई वटा वडा बनेका छन् जुन ४ र ५ नम्बर वडा हुन् । सिम्ता दराको लापुमा एउटा पूरानो राजदरबारको भग्नावशेष छ (वि.सं.२०५४ सालमा प्रकाशित सुर्खेत दर्पणमा उल्लेखित) जुुन हालसम्म पनि यथावतै छ । सिम्ता क्षेत्रको मात्रै नभएर सुर्खेत जिल्लाकै एक ऐतिहासिक सम्पदाको रुपमा विकास एवं प्रचार हुनुपर्नेे राजकाँडा दरबार सिम्ता गाउँपालिकाको वडा नंं ३ लापुमा पर्दछ ।

लापु राजकाँडा दरबारको भग्नावशेष (राजदरबारको प्रशासनिक भवन) र नजिकै सो भन्दा अझै अग्लो स्थानमा स्थानीय रुपमा ‘राजा बस्ने टाकुरी’ भनिने ठाउ“ राजाको निवास स्थान भएको सहजै अनुमान गर्न सकिन्छ । लापुको देउलीबाट झण्डै बीस पच्चिस मिनेटको बाटोमा रहेको राजकाँडा दरबार एक ऐतिहासिक सम्पदाको रुपमा रहेको छ ।

खस साम्राज्य मलय बम्म (बर्मा)को राज्यकाल (वि.सं. १४३५–१४४६) पछि विलाएको पाइन्छ । विशाल खस साम्राज्यको विघटन पश्चात् वि.सं. १४४८ को समयमा राज्यलाई टुक्रा–टुक्रा पारेर विभिन्न स्थानमा धेरै राजाहरुको उदय भएर राज्य गर्दै रहेको समयमा बाइसे राज्यहरु र चौबिसे राज्यहरु पनि अनेक टुक्रामा विभाजित भएको पाइन्छ ।

यसप्रकारले राज्यहरु विभाजित हुदै जाँदा खस साम्राज्यले ओगटेको भू–भागमा कति वटा राज्य भए त्यसको एकिन अभिलेख पाउन गाह्रो छ । यस्तै अभिलेख नराखिएको वा इतिहास नलेखिएको राज्य मध्येको एक हो सुर्खेतको सिम्ता दरा सहितको भूभागमा पर्ने ‘लापु राज्य’ । विशाल खस साम्राज्य विभाजित भई नयाँराज्य बन्ने क्रममा स्थापित भएको एक भुरे टाकुरे राज्य नै लापु राज्य हो ।

संसारी वर्माद्वारा वि.सं. १४५३ मा दुल्लु राज्यको स्थापना गरिएको थियो भने सोही राज्यलाई टुक्र्याएर श्री वर्माले वि.सं. १४७५ मा दैलेखतर्फ बेलासपुर राज्यको स्थापना गरेका थिए । दुल्लु राज्य र बेलासपुर राज्यलाई मूल रुपमा छामगाड खोलाले छुट्याएको पाइन्छ ।

स्थानीय ऐतिहासिक विषयवस्तुका बारेमा अत्यन्तैै जानकारी राख्ने सदास्मरणीय परलोकबासी मेरो माइला हजुरबुवा अम्मर पोखरेलले उहाँ ८५ वर्षको हुँदा मिति २०५७/०५/०४ मा मलाई भनेअनुसार सुरुमा हालको सिम्ता गाउँपालिकाको वडा नं. ९ (साविक खानीखोला गा.वि.स.) मा भोटे चुली (गुमी चुली) लाई केन्द्र मानी राजा बसी राज्य गर्दै आएका र ती राजालाई सिर्तो (अन्नको कर) स्वरूप पिठो दिँदा यति मसिनो पिठो चाहिने कि भित्तामा टासिएको जति लिने र अरू नलिने गरेकाले जनताहरूले हैरानी बेहोर्नु परेको कुरालाई समेत मध्यनजर गरी लापु बयानाका बयाने बुढाहरू (ठकुरीलाई नै राजा बनाउनु पर्छ भन्ने हिसाबले राजा नभएका तर एकदमै शक्तिशाली हैसियतका) ले जनताको साथ सहयोग समेत लिई उक्त राजालाई असहयोग गरी रक्तपातरहित ढंगले विस्थापित गरी लापुको राजकाँडामा दरबार स्थापना गरी सुरसिंह ठकुरीलाई लापुमा रहेको राजकाँडा दरबारको प्रथम राजाको रूपमा स्थापित गराएको भन्ने भनाइ छ ।

साविकको खानीखोला गा.वि.स. अन्तर्गत बसी राज्य गरेका राजाका सन्तानहरु कोे हुन् र हाल कहाँ बसेका छन् भन्ने कुरा कहीं कतैबाट खुलेको पाइदैन । भोटे चुली (गुमी चुली)लाई केन्द्र मानी साविक खानीखोला गा.वि.स. अन्तर्गतमा बसी राज्य गरेका ती  राजाले सिम्ता दरा सहित भेरी नदी(सुभाघाट)को सीमाना हुँदै  चिंगाड खोलासम्मको भू–भाग उत्तरतर्फ भण्डै हालको सुर्खेत जिल्लाको दैलेख तर्फको सिमानासम्म नै राज्य गरेको भन्ने कथन छ ।

भोटे चुली (गुमी चुली) लाई केन्द्र मानी राज्य गरेका राजालाई सुरसिंह ठकुरीले विस्थापित गरेपछि सो भू–भागमा सामरिक एवं सुरक्षाका दृष्टिले राजकाँडालाई बढी उपयुक्त ठानी राजकाँडामा दरबार स्थापना गरी राज्य संचालन गरेको भन्ने छ । लेखक तथा समाजसेवी पृथ्वीबहादुर सिंह (लापु राजकाँडा दरबारका प्रथम राजा यदु वंशी, साडिल्य गोत्री सुरसिंह ठकुरीका सन्तान) का अनुसार “सिम्ता क्षेत्रमा गाइने ‘दुल्लु माइत जाऊ……’ भन्ने कर्खा र सतिकलसाको धमारी गीतका शब्दहरुबाट राजकाँडा दरबारको दुल्लु दरबार र सल्यान दरबारसंग वैवाहिक सम्बन्ध कायम भएको स्पष्ट हुन सकिन्छ ।”

सुरसिंह ठकुरी त्यतिबेलाको शक्तिशाली मध्येकै एक दुल्लु दरबारमा वैवाहिक सम्बन्ध कायम भएका व्यक्ति (केही बुढापाकाहरुको भनाईमा सुरसिंह दुल्लु राजाका ज्वाइसमेत भएको र संसारी वर्माले छोरा श्री वर्मालाई देलैखतर्फ बेलासपुर राज्य दिएका र ज्वाइलाई लापु राज्यको राजामा स्थापित गराएको) हुन् भन्ने कथनले उनलाई लापु दरबारका राजा हुनलाई र सो राज्यलाई टिकाई राख्न सहज वातावरण प्राप्त भएको भन्न सकिन्छ ।

बुढापाकाहरुको सो भनाई र आजभन्दा झण्डै छ सय वर्ष पहिले यस राज्यका प्रथम राजा सुरसिंह ठकुरी हुनुभएको थियो (सुर्खेत सिम्ता गा.पा. वडा नं. ३ लापु बस्ने लापु राजकाँडा दरबारका प्रथम राजा सुरसिंह ठकुरीका सन्तान भुपाल सिंह ठकुरीले २०७५/११/०७ मा चबचबलभधक।अयमा प्रकाशित ‘म एक पूर्व राजाको सन्तान’ शीर्षकको लेखमा उल्लेखित) भन्ने भनाइले सुरसिंह ठकुरी उक्त सिम्ता दरासहितको भूभागमा पर्ने लापु राज्यको राजा भएको समय श्री वर्माले दैलेखतर्फ बेलासपुर राज्यको स्थापना गरेको मिति वि.सं. १४७५ को समयकालीन भएको भन्न सकिन्छ ।

राजकाँडा दरबारका प्रथम राजा सुरसिंह ठकुरी, राजगुरु(राज पुरोहित) चाचल्य (आत्रेय गोत्री पोखरेल ब्राम्हण, स्थानीय ठाउँ र व्यक्ति अनुसार भनाइमा चाबल्य‍/चापल्य/चाकल्य/चाबुल्य/चापुल्य/चाकुल्य/चाबुल्ला/चापुल्ला/चाकुल्ला/च्यापुल्य/च्यापुल्ला भन्ने गरेको भएतापनि वि.सं. २०४२ सालमा कृष्णचन्द्र पोखरेलद्वारा प्रकाशित पोखरेल वंशावलीमा चाचल्य नाम उल्लेख भएकाले सोही अनुसार उल्लेख गरिएको) नरसिंह भण्डारी (दरबारका भण्डारे), आसेदासे कामी, सुर्जे आउजे दमाई र छैटाै‌‍‍ रोकाय (माथि उल्लेखित अन्य पाँच जना आउँदै गर्दा बाटोमा एक जना रोकाय थरका व्यक्ति पनि सामेल भइ आएकाले उनलाई छैंटौ रोकाय भनिएको) सहितका ६ जना व्यक्तिको समूह भई विशाल खस साम्राज्यको शितकालीन राजधानी रहेको ऐतिहासिक ठाउँ दुल्लुबाट हालको सुर्खेत जिल्लाको सिम्ताको लापुमा गएको भन्ने भनाइ छ ।

इ.सं. १७८९ (वि.सं. १८४६) मा बहादुर शाहले नेपाल एकिकरणको सिलसिलामा दुल्लु राज्य र सिम्ता दरा सहितको दैलेखको बेलासपुर राज्य एकीकरण गरेको पाइन्छ । एकिकरण पूर्व सिम्ता दरा दैलेखको बेलासपुर राज्य अन्तर्गत रहेको देखिन्छ ।

बेलासपुर राज्यका फौज सिम्ता दरातर्फ र बहादुर शाहका सेना भेरीपारी सल्यानतिर  रहेका थिए भन्ने भनाइ छ । लापुको राजकाँडामा दरबार स्थापित गरिएको उक्त राज्य कति समय टिक्यो सो कुरा कहीं कतैबाट खुल्दैन तर सिम्ता दरासहितको सो राज्य दैलेखको बेलासपुर राज्यमा विलय भएको देखिन्छ ।

नेपाल एकीकरण भन्दा धेरै अगाडिनै बेलासपुर राज्यमा उक्त राज्य विलय भइसकेको कारणले गर्दा पनि एकीकरण पूर्वका राज्यको अभिलेखमा यसको अभिलेख नभेटिएको भन्न सकिन्छ । सो विलय पश्चात् दैलेखको बेलासपुरे राजाका प्रतिनिधिका रुपमा सिम्ता दराका चार स्थानमा एक एक जनाका दरले चार ठालुको व्यवस्था गरिएको भन्ने छ ।

सिंह ठकुरी ठालु रहेका तीन ठाउ“ (काँडासिम्ता, लापु र काफलकोट)मा यिनै लापु राजकाँडा दरबारका प्रथम राजा सुरसिंह ठकुरीका सन्तानहरु र एक ठाउँमा आत्रेय गोत्री पोखरेल ठालु रहेको भन्ने छ । लेखक तथा समाजसेवी पृथ्वीबहादुर सिंह (राजकाँडा दरबारका प्रथम राजा सुरसिंह ठकुरीका सन्तान) का अनुसार “पोखरेलहरु लापुको राजकाँडा दरबारका राजगुरु मात्र नभएर काजीकै हैसियतले सिंह राजालाई साथ सहयोग गरेका हुन् भन्ने छ ।”

मेरा माइला हजुरबुवाले भने अनुसार “लाफुका सिंह राजाले नै हालको सिमलगाउ“को पूरै जग्गा पोखरेलहरुलाई बिर्ता स्वरुप दिएका हुन् भन्ने छ ।” सिम्ता दरा सहितको लापु राज्य बेलासपुर राज्यमा बिलय पश्चात् बेलासपुरे राजाका प्रतिनिधिका रुपमा सिम्ता दराबाट तीन जना सिंह ठकुरी र एक जना पोखरेल ठालु रहेको भन्ने भनाइ छ । सिम्ता दरासहित दैलेखको बेलासपुर राज्य सो राज्यका अन्तिम राजा कर्ण शाहीको राज्य कालमा वि.सं. १८४६ मा नेपाल एकीकरणमा समाहित हु“दाका बखतमा सिम्ता दराका ती चारमध्येका एक ठालुमा पोखरेलबाट  तितिमाला कालीन चाउरुका सहोदर दाजु बिघान  (बेलासपुरे राजाका तर्फबाट अन्तिममा मुखेली चलाउने सिमलगाउँका पोखरेल) रहेकोले उहाँ लेखक सिंहको भनाईलाई पुष्टि गर्दछ ।

पोखरेल तर्फबाटका ठालु बिघानले मुखेली चलाएकोले सिंह ठकुरीतर्फका तीन ठालुले पनि मुखेली चलाएको अनुमान गर्न सकिन्छ । बेलासपुर राज्यका फौज एवं बहादुर शाहका गोर्खाली फौजबीच यसै सिम्ता दराको भूमीमा लडाई भएको भन्ने छ र सिम्ता दरा सहित दैलेखको बेलासपुर राज्य सो राज्यका अन्तिम राजा कर्ण शाहीको राज्य काल वि.सं. १८४६ मा नेपाल एकिकरणमा समाहित भएको पाइन्छ ।

लापु राजकाँडामा दरबार स्थापना भएको समयमा हालको यस क्षेत्रको नाम सिम्ता रहेको पाइदैन । हाल सिम्ता गाउँपालिका वडा नं. ९ (साविक खानीखोला गा.वि.स. अन्तर्गत) मा प्रशस्त मात्रामा सिमतामा  पाइने भएकाले सो सिमतामा पाइने क्षेत्रलाई समयको अन्तरालसंगै काँडासिम्ता भनिएकोमा पछि माथि उल्लेखित आठ वटै गा.वि.स.को पूरै भूभागलाई सिम्ता दरा भनिएको हो भन्ने भनाई छ । खोटाङका खार्पाली पोखरेल (आत्रेय गोत्री पोखरेल) कृष्णचन्द्र पोेखरेलले वि.सं. २०४२ सालमा प्रकाशित गर्नुभएको पोखरेल वंशावलीमा निबुका चार छोरा मध्ये साइला छोरा सैगुण (जयानन्द/केलु/चाबा पनि भनिने)का सन्तान पोखरेल भए भनी उल्लेख गरिएको छ ।

लाभु बस्ने यिनका सन्तान ‘लाभुल्यल’ भनिन्छन् भनी उल्लेख भएको (अन्नपूर्ण दैनिक ३२ साउन २०७६ मा ‘चन्द्रवंशी राजाहरुको अलिखित इतिहास’ शीर्षकको प्रा. डा. माधवप्रसाद पोखरेलको लेखमा उल्लेखित) छ ।

भाषा विज्ञानका विद्वान प्रा. डा. पोखरेलसंग मैले सो लेख पढेपछि हाल सो ठाउ“लाई लेख्यरुपमा लापु लेखिन्छ भनी जानकारीसहित जिज्ञासा राख्दा सुरुमा लाभु भनिएको र पछि त्यसलाई लाफु भनिएको हुनुपर्दछ किनभने भु लाई फु नभनी एकैचोटी पु नबोलिने भन्ने उहाँको भनाइलाई स्थानीय केही जानकार व्यक्तिहरु सहितका हाल लापुमै बस्ने राजा सुरसिंह ठकुरीकै सन्तान ओमकार सिंह ठकुरीसंग सोधपुछ गर्दा उहाँका अनुसार  “लापुलाई स्थानीय रुपमा धेरै जसोले हालसम्म पनि लाफु नै भन्ने गरेका छन् तर हाल पछि मात्रै लेख्य रुपमा लाफुलाई लापु लेखिएको हो” भन्ने भनाईबाट डा. पोखरेलको ठम्याई सही रहेको देखिन्छ । लाभुलाई कथ्य रुपमा लाफु भनिदै हाल लेख्य रुपमा लापु लेखिए जस्तै लाभुल्यलाई लाफुल्य भनिदै हाल लेख्य रुपमा लापुल्य भन्नु एउटै देखिन्छ । लाभुल्य/लाफुल्य (हालको लेख्य रुपको लापुल्य) बाहुन/ब्राम्हण भनेका नै आत्रेय गोत्री पानी पोखरेल हुन् ।

सुर्खेत सिम्ताबाट गई रुकुम चौरजहारी लापुले गाउ“मा बसोबास गरेका आत्रेय गोत्री पोखरेलहरुले आफूहरु लाफु झ्यामबाट उक्त स्थानमा गएको भन्ने गरेका तर हाल पछिल्लो अवस्थाको लापु (साविक आग्रीगाउ“ गा.वि.स. को वडा नं. १, २, ३ र ४) भित्र झ्याम भन्ने ठाउँ नपर्ने र सो बाहिर पर्ने साथै उनीहरुले सिम्ताको नाम नलिई केबल लापुको नाम मात्रै लिने गरेका र आफू बसोबास गरेको चौरजहारीको उक्त स्थानलाई लापुले गाउँ भन्ने गर्दै आएकाले त्यस समयमा सिम्ता नाम साविकको खानीखोला गा.वि.स.मा पर्ने काँडासिम्तामा मात्रै सीमित रहेको देखिन्छ ।

हालको सिम्ता सिमलगाउ“को धासिनाबाट सल्यान को बामे गएका आत्रेय गोत्री पोखरेलहरु (हालका बमेल मुखिया सहितका बमेल नाइकका सन्तानहरु)ले सिमलगाउँ र सिम्ताबाट त्यस स्थानमा गएको नभनी केवल लाफुबाट नै गएको भन्ने भनाइले लाभु/लाफु (हाल लेख्य रुपको लापु) राज्य भन्नाले सो राजकाँडा दरबारबाट प्रशासित हुने हालको सिम्ता दरा सहितको सम्पूर्ण क्षेत्रलाई नै बुझाउने रहेछ भनेर स्पष्ट हुन सकिन्छ ।

जानकार बुढापाकाहरुको भनाई अनुसार मोटर बाटोको सुरुवात नभएको समयमा डोटीबाट अछाम, दैलेखको सदरमुकाम भएर दैलेखकै कट्टी हुँदै जाजरकोट जिल्लाको छेउमा पर्ने जाँतबाट सुर्खेतको सिम्ता, सल्यान, दाङको छेउछेउ हुँदै प्यूठान र अर्घाखाँची  भएर पाल्पा पुग्ने परम्परागत चल्तीको मूल बाटो (मुख्य बाटो) ले सिम्ता दराका साविकका आठ गा.वि.स. मध्येका घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर र राकम सहितका पाँच गा.वि. स. का भू भागले छोएको पाइन्छ ।

सिम्ता दराका गान्द्रा, दुर्पाला, लापु, सिमलगाउँ, बजेडीचौर, पिल्क, राकम हुँदै राकमकै बादेपिपल घाटबाट भेरी नदी तरेर सल्यान जिल्ला हुँदै अगाडि बढ्ने गरेको पाइन्छ । नेपालमा मध्यकालमा नै अस्तित्वमा रहेको भनिएको सो परम्परागत चल्तीको  मूल बाटोबाट पाल्पा हुँदै नेपालको राजधानी काठमाडौं जाने गरेको भन्ने छ ।

नेपालमा हुलाकको सुरुवात भए पश्चात् यसै मुल बाटोलाई नै सरकारी स्तरबाट हुलाकी मूल बाटोको रुपमा स्थापित गराइएको देखिन्छ । सायद परम्परागत चल्तीको यही मूल बाटो भएर नै होला पहिले दैलेख पश्चिमकाको डोटी र दैलेख पूर्वकाको पाल्पामा पुनरावेदन तहको अदालत रहेको पाइन्छ ।  पछि सल्यानमा पनि पुनरावेदन तहको अदालत स्थापना भएपछि भने दैलेख सहितका पूर्वतिरकाले सल्यानमा पुनरावेदन गर्ने व्यवस्था गरेको पाइन्छ ।

पछि अञ्चल अदालत र क्षेत्रीय अदालत स्थापना भएपछि भने सल्यानको पुनरावेदन तहको अदालत खारेज भएको देखिन्छ । स्मरण रहोस् अञ्चल अदालत र क्षेत्रीय अदालत खारेजी पश्चात् ल्याइएको पुनरावेदन अदालतलाई पनि वि.सं. २०७३ सालमा खारेज गरी वि.सं. २०७३ सालमा नै उच्च अदालत बनाइएको छ ।

इतिहास र ऐतिहासिक सम्पदाले व्यक्ति र समाजको पहिचान मात्र दिने नभई विगतको समाज विकासको क्रमलाई एउटा दर्पणको रुपमा वर्तमान र भावि पिंढीलाई हस्तान्तरण गर्ने एउटा सशक्त अभिलेखको रुपमा त रहन्छ नै साथसाथै पर्यटकीय क्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । यस्तो महत्वको  ऐतिहासिक सम्पदालाई पुनःनिर्माण गरी पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउन त सकिएको छैन नै तर इतिहासमा अभिलेखित गर्ने कुरामा पनि इतिहासकारहरुको दृष्टि पुगेको पाइएन ।

इतिहासमा अभिलेखित गर्ने कुरामा इतिहासकारहरुको दृष्टि पुगोस् । ओझेलमा परेको यस्तो ऐतिहासिक महत्वको लापु राजकाँडा दरबारलाई पुनःनिर्माण गरी प्रचार गर्न सकिएमा सुर्खेत जिल्ला सहित समग्र कर्णाली प्रदेशकै ऐतिहासिक पर्यटकीय सम्पदाको रुपमा महत्वपूर्ण भूमिका खेलेर देशकै पर्यटन विकासमा योगदान दिन सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया