स्थानीय पाठ्यक्रमको नाममा अंग्रेजी घोकाइँदै

 

 

सुर्खेत : स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका अनुसार स्थानीय तहले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्छन् ।

स्थानीय आवश्यकता, स्रोत, ज्ञान र सीपको आधारमा निर्माण हुने उक्त पाठ्यक्रम आधारभुत तहमा लागू गर्न सकिन्छ । तर कर्णालीका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रमको नाममा अंग्रेजी घोकाइरहेको पाइएको हो ।

यो पाठ्यक्रम स्थानीय सरोकारवालाहरुको सहभागितामा स्थानीय आवश्यकता अनुसार स्थानीय विषय बस्तुहरु समावेश गरी निर्माण र कार्यान्वनय गर्नुपर्ने स्पष्ट उल्लेख छ । तर नियमविपरित झण्डै दर्जन भन्दा बढी प्राथमिक तहमा स्थानीय पाठ्यक्रमका नाममा हाल अंग्रेजी माध्यममा पढाइ भइरहेको हो । स्थानीय पाठ्यक्रमको मुलमर्म भनेकै मातृ अर्थात स्थानीय बोलीचालिकै भाषामा बालबालिकालाई शिक्षा दिनु हो । तर हाल अधिकांश विद्यालयले यसको मर्मविपरित अंग्रेजी भाषा पढाइरहेका छन् ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गतवर्ष स्थानीय पाठ्यक्रमको कार्यान्वयन अवस्था र सम्भावित विषयवस्तुबारे अध्ययन गर्न विज्ञ टोली परिचलान गरेको थियो । सोही टोलीले अध्ययनका क्रममा कर्णालीका विद्यालयहरुले मनलाग्दी अंग्रेजी विषय पढाइरहेको भेटाएको हो । स्रोत केन्द्रस्तरमा छलफल गरेर विद्यालयहरुले अंग्रेजी पढाइरहेको विज्ञ टोलीका डा. हर्कबहादुर शाही बताउँछन् ।

प्राथमिक विद्यालयहरुले कक्षा १ देखी ५ सम्म स्थानीय विषयमा पाठ्यक्रम अनिवार्य लागु गर्नुपर्छ । तर रुकुमपश्चिमको दिपज्योति मावि आठविसकोट, भेरी दोधान मावि सानीभेरी,
जनप्रीय मावि त्रिवेणी, विजेश्वरी मावि चौर जहारी र जनकल्याण मावि चौरजहारीले स्थानीय पाठ्यक्रमका नाममा अंग्रेजी विषय पढाइरहेका छन् ।

यस्तै जुम्लाको भैरव मावि धुपीढुस्का, नवप्रभात मावि तलिचौर, रत्नचुलेश्वर मावि चुलेश्वर, सरस्वती मावि मिचा, शम्भुनाथ ज्ञानकुञ्ज मावि चन्दननाथ, भैरवमावि सिँजा, दैलेखको ज्वाला मावि भगवतीमाई, कालिकोटको महादेवमावि खाँडाचक्र र सुर्खेतको शिखर मावि रामघाटले स्थानीय पाठ्यक्रमको नाममा अंग्रेजी पढाइरहेका छन् ।

दुई वर्षसम्म अंग्रेजी विषय पढाएको शिखर माविले भने गत असोजदेखी स्थानीय पाठ्यक्रम अन्तर्गत तरकारी बाली पढाउन शुरु गरिसकेको छ । ‘विद्यार्थीलाई सामान्य वेस बनाउन अंग्रेजी पढाइरहेका थियौं’ विद्यालयका प्रधानाध्यापक दानबहादुर चन्दले भने, ‘अंग्रेजी पढाउन नियमले नमिल्ने रहेछ, असोजदेखी नगर शिक्षाले तरकारी विषयमा पढाउन भनेपछि नयाँ पाठ्यक्रम लागु गरेका छौं ।’ विज्ञ टोलीले कतिपय विद्यालयहरुले एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम नबनाएर परीक्षामा नम्बर चढाएको भेटिएको छ ।

‘स्थानीय स्तरमा अनिवार्य पाठ्यक्रम बनाएर लागुगर्ने नियम स्पष्ट हुँदाहुँदै विद्यालयले अटेरी गरेको पाइयो’ डा. शाही भन्छन्, ‘यसको नियमनमा सरोकारवाला निकायले कुनै कदम चालेको देखिएन् ।’ कर्णालीमा सामुदायिक र संस्थागत तीन हजार एक सय ९९ विद्यालय छन् । यी मध्ये सामुदायिकतर्फ प्राथमिक तहमा दुई हजार नौ सय ७५ विद्यालयमा झण्डै तीन लाख ३८ हजार सात सय २८ विद्यार्थी अध्ययनरत छन् ।

के हो स्थानीय पाठ्यक्रम ?

स्थानीय आवश्यकताका आधारमा स्थानीय ज्ञान र सीपबाट निर्माण गरिएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । यो पाठ्यक्रम स्थानीय नागरिकको अपनत्व हुनेगरी सरोकारवालाले स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटेर विकास गर्दछन् ।

यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु अनिवार्य समावेश गर्नुपर्दछ । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नविनतम ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन सहयोग गर्दछ । यस्तो पाठ्यक्रमले स्थानीय स्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ ।

स्थानीय पाठ्यक्रम शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किला पनि हो । नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्वन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको सम्वद्र्धन र संरक्षण गर्ने हक हुने उल्लेख छ ।

विद्यालय तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत रहने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

 कुन जिल्लालाई कस्तो पाठ्यक्रम उपयुक्त ?

विज्ञ टोलीले कर्णालीका जिल्ला अनुसार फरक–फरक पाठ्यक्रम बनाउन सिफारिस गरेको छ । सम्वन्धित स्थानीय तहका प्रमुख, शिक्षक, शिक्षा अधिकारी र स्थानीयसँग भेटेर टोलीले यस्तो सिफारिस गरेको हो ।

जुम्ला, हुम्ला, मुगु र डोल्पामा जुम्ली खसभाषा, भोटे, खाम र काइके भाषामा पाठ्यक्रम बनाउन भनेको छ । यस्तै यस क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा, पुशपालन, जडिवुटी, परम्परागत खाद्यान्न वाली, संस्कृती, परम्परा र फलफूलको आधारमा पाठ्यक्रम बनाउन विज्ञ टोलीले सुझाव दिएको छ ।

यस्तै कालिकोटमा तरकारी र जडिवुटी, सुर्खेतमा मगर भाषा, तरकारी, फलफूल र कृषि तथा जाजरकोट, रुकुमपश्चिम, दैलेख र सल्यानमा सुन्तला खेती, तरकारी, स्थानीय संस्कृती, परम्परा र कृषिलाई समेटेर पाठ्यक्रम बनाउन सिफारिस गरिएको छ । तर समग्र प्रदेशमा योग शिक्षा र सकारात्मक सोच सम्वन्धी शिक्षा दिनेगरी पाठ्यक्रम बनाउन पनि सुझाव दिइएको छ ।

पाठ्यक्रम लागू भएका ठाउँमा भद्रगोल

जुम्लाको मालिका आधारभुत विद्यालय गौतमबाडाले दुई वर्षदेखी प्राथमिक तहमा जडीवुटी विषयको स्थानीय पाठ्यक्रम लागु गरेको छ । नगरपालिकाले नै लागु गरेको पाठ्यक्रम फेरि परिवर्तन गर्ने गृहकार्य भइरहेको हो ।

यस्तै जिल्लाकै चन्दननाथ नगरपालिकाले नगर क्षेत्रका २८ वटा विद्यालयमा खस भाषाको पाठ्यक्रम लागु गर्नेगरी तयारी गरिरहेको मालिका आधारभुत विद्यालयका शिक्षक जयप्रसाद गौतमले जानकारी दिए । विज्ञ टोलीले कतिपय स्थानीय तहसँग विद्यालयहरुमा बनाइएका पाठ्यक्रममा त्रुटी रहेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।

विद्यार्थीको स्तर र क्षमता सुहाउने खालका पाठ्यक्रम नहुँदा स्थानीय विषय वस्तुभन्दा बाहिरका ज्ञान बढी समावेश गरिएको छ । डोल्पाको त्रिपुरा मावि काइगाउँ, अन्नपूर्ण मावि सर्मी मुड्केचुला, आदर्शमावि जुफालले पनि यार्सागुम्बा सम्बन्धी पाठ्यक्रम लागु गरेका छन् । जुम्लाको तातापानीमा रहेको विद्यालयले खसभाषाको पाठ्यक्रम बनाइरहेको छ ।

स्थानीय तह र स्रोत केन्द्र पनि विस्तारै स्थानीय पाठ्यक्रम बनाउनुपर्छ भन्ने लयमा हिँड्न खोजेको विज्ञ टोलीको भनाइ छ । तर ति पाठ्यक्रम व्यवस्थित नहुँदा थप जटिलता उत्पन्न भएको छ ।

मातृभाषा सिकाउन कन्जुस्याइँ नगरौं

डा. हर्कबहादुर शाही
सह–प्राध्यापक, सुर्खेत क्याम्पस शिक्षा

प्राथमिक विद्यालयमा पढ्ने बालबालिकालाई सानैदेखी अंग्रेजी विषय पढाउनु घातक हो । किनकी अंग्रेजी पढाउने वहानामा स्थानीय भाषालाई नै अपहेलना गरिएको छ ।

यसले स्थानीय भाषा नै हराउने खतरा छ । दोस्रो भाषा सिकाउनका लागि पहिलो भाषा राम्रोसँग बुझाउनु पर्छ । तर अंग्रेजी भाषा पढाउने होडवाजीले बालबालिकाहरुले न अंग्रेजी राम्रोसँग सिक्न सकिरहेका छन्, न त स्थानीय भाषामा नै अब्बल छन् । सानैमा स्थानीय भाषामा अब्बल बनाइयो भने पो अंग्रेजी सिकाउँदा पनि बालबालिकाहरुले राम्रोसँग सिक्न सक्छन् ।

विगतमा नेपाली पढेर ठूलो कक्षामा पुग्दा राम्रो अंक ल्याएर सफल भएका पनि धेरै उदारण छन् । कम्तीमा मातृभाषा सिकाउन हामीले कुनै कन्जुस्याइँ गर्नु हुँदैन । जवर्जस्ती बालबालिकाहरुलाई अंग्रेजी सिकाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ । पहिला स्थानीय भाषा, अनिमात्र अंग्रेजी सिकाउँदा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया