‘राजाले बनाएका सडकमा गुड्दैमा समृद्धि आउँदैन’

सल्यान : स्थानीय सरकार प्रमुखहरूले राणाले बनाएको सिहंदरबारमा बसेर राजाले बनाएका चिल्ला सडकमा गुड्दैमा देशमा समृद्धि नआउने बताएका छन् ।

सल्यान खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने स्थानीय तहका प्रमुखहरूले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सल्यानमा गरेको कृषि विकास रणनीति अभिमुखीकरण कार्यशालामा यस्तो बताएका हुन् ।

संघ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी नहुँदासम्म विकासले गति नलिने उनीहरूको जोड रहेको छ। कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संघीय सरकारले भू–उपयोग नीति निमार्ण नगर्दासम्म कृषिमा फड्को मार्न नसक्ने बताए ।

अध्यक्ष केसी कृषिमा राज्यले लगानी कम गर्ने तर कृषिका कुरा ठूला गरेर समृद्धि सम्भव नहुने बताए । ‘राणाहरूले बनाएका सिहंदरबारका बसेर राजाहरूले निमार्ण गरेका चिल्ला रोडमा गुड्दैमा आमूल परिवर्तन हुँदैन’ उनले भने ।

संघ र प्रदेशबाट आएका योजना दलालीकरणका माध्यमबाट स्थानीय तहमा आएको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले आरोप लगाए । स्थानीय तहसँग कुनै समन्वय सहकार्य नगरी आएका योजना ‘मिसयुज’ भएको उनको आरोप रहेको छ ।

तीनै तहको समन्वयबिना विकास दिगो र कृषि विकासको रणनीतिले पूर्णता पाउन नसक्ने जिल्ला समन्वय समितिका उपप्रमुख हरी प्रकाश बुढाथोकीले बताए । संघ र प्रदेशले योजना र बजेट ल्याएर कार्यान्वयन गर्ने फेरि समन्वय भएन भनी भन्नुको कुनै तुक नरहेको उनको भनाइ छ ।

स्थानीय तहको समस्या एकातिर संघ र प्रदेशको योजना अर्कोतिर हुँदा तालमेल मिल्न नसकेको बनगाड कुपिन्डे नगरपालिका प्रमुख गोविन्द पुनले बताए । प्रदेश र संघका योजनाको अनुगमन निकै फितलो भएको उनको भनाइ छ । प्रदेशसभा सदस्य गुलाब जंग शाहले कृषिमा आत्मनिर्भर नभए अन्यमा जतिसुकै प्रगति गरे पनि देश गरिब नै हुने बताए ।

परम्परागत तरिकाले योजना कार्यान्वयन भइरहेको बताए । प्रदेशले समन्वय नगरी योजना ल्याएको आरोपको प्रतिवाद गर्दै शाहले स्थानीय तहले पनि कुनै योजना बनाउन नसकेको बताए । तीन वर्ष बितिसक्दासमेत स्थानीय तहले देखिने प्रकारको उल्लेख्य प्रगति गर्न नसकेको बताए ।

तपाईको प्रतिक्रिया