सल्यानमा ७० करोडको अदुवा उत्पादन

सल्यान : चालू आर्थिक वर्षमा सल्यानबाट ७० करोड बढीको अदुवा निकासी भएको छ ।

यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख रुपैयाँ बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

जिल्लामा २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार उत्पादित अदुवामध्ये १६ हजार ८ सय ९३ मेक्ट्रिटन जिल्ला बाहिर निकासी हुने गरेको छ । विगतका वर्षमा अदुवा बिक्री नभएर निरास भएका किसान यो वर्ष अदुवाले मूल्य पाएपछि खुशीसमेत भएका छन् ।

विगतका वर्षमा २० रुपैयाँ किलोमा पनि बिक्री नभएको अदुवा यो वर्ष ४० रुपैयाँ किलोभन्दा बढीमा बिक्री भएको आचार्यले बताए । जिल्लामा २ हजार ९० हेक्टर क्षेफलमा अदुवा खेती गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीरण जोन कार्यक्रम, तथा कृषि कार्यालयकै विभिन्न ब्लक कार्यक्रमले अदुवा उत्पादनमा वृद्धि आएको आचार्यको भनाइ छ ।

सल्यान रेसाविहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । रेसा नभएको बोसे जातको अदुवा बढी उत्पादन हुने भएकाले यहाँबाट बर्सेनि करोडौँको अदुवा जिल्ला बाहिर जाने गर्दछ ।

तपाईको प्रतिक्रिया