न्यायाधीश गाउँमा पुग्दा….

दैलेख : चामुण्डाविन्द्रासैनी नगरपालिका– ६ का खजुरा विष्टलाई न्यायाधीश र अदालतका कर्मचारीसँग बोलचाल नै गर्नु हुँदैन भन्ने लागेको थियो ।

बोल्दा पनि कानून लाग्ला भन्ने बुझाइ उनमा थियो । तर न्यायाधीश समुदायसँग सम्वन्ध बढाउन गाउँमै आएर बोलेपछि उनी दंग परिन् । ‘न्यायाधीशसहितको टोली गाउँमा आउँदा मैले बुझेको सब गलत हरेछ’ विष्टले भनिन्, ‘पहिलो पटक अदालतबारे स्पष्ट हुने मौका उहाँबाटै पाएँ, म खुशी छु ।’

न्याय सम्पादनबारे जानकारी दिन दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको टोली शनिवार चामुण्डाविन्द्रासैनीको जम्बुकाँधमा न्यायिक बाह्य पँहुचसम्बन्धी कार्यक्रममा पुगेको थियो । न्यायाधीशको टोलीसहित गाउँमा आउँदा स्थानीय अचम्मित भए ।


न्यायाधीशको टोली पहिलो पटक गाउँमा पुगेपछि अदालत तथा मुद्दा मामिलाबारे न्यायधीशहरूसँग निर्धक्क कानुन, अदालती काम र प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । अदातलका काम कर्तव्य र गतिविधिबारे सर्वसाधारणलाई बुझाउन तथा अदालतमा भइरहेका कमीकमजोरी औंल्याउन सर्वसाधारणसँग न्यायिक बाह्य पहुँचसम्बन्धी कार्यक्रम गर्न गाउँ पसेको दैलेख जिल्ला अदालतका न्यायाधीश लामिछानेले बताए ।

न्यायाधीशसँग बोल्नै नहुने, सम्बन्ध राख्नै नहुने भन्ने सोच पुरातन भएकाले त्यसमा सुधार ल्याउन आफू गाउँ आएको लामिछानेले बताए । ‘जो कसैले पनि अदालतमा न्यायका लागि सहज पहुँच बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रा कमीकमजोरी के छन्, त्यसमा सुधार गर्न र सुझाव माग्न गाउँ आइपुगेका हौं ।’ ढिलोचाँडो भए पनि न्याय र सत्य कहिल्यै नमर्ने भन्दै अदालतप्रति विश्वास राख्न उनको आग्रह थियो ।

पछिल्लो समय म्याद तामेलीका कारणले गर्दा न्याय सम्पादनमा ढिला सुस्ती हुने गरेको न्यायाधीश लामिछानेले बताए । अदालतलाई चाहिने प्रमाणहरु जुटाउन स्थानिय नागरिकहरुको भूमिका आवश्यक रहने बताएका उनले अदालतलाई सधैभरी आवश्यक सहयोग गर्न अनुरोध गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार