घरघरमा धारा पुगेपछि स्थानीय दंग

सल्यान : सल्यान शारदा नगरपालिका ८ मार्केमा लिफ्ट सिस्टममार्फत गाउँमा पानी पुगेपछि स्थानीय ढंग परेका छन् । बिहान उठ्ने वित्तिकै पानीको जोहो गर्न चिन्ताले सताउदै आएका स्थानीय घरभित्रै पानी आएपछि दंग परेका हुन् ।

मार्के काजिगाउँका खड्कबहादुर भण्डारी खानेपानी लिन टाढाको बाटो हिड्दा हिड्दा हैरान भएका थिए । लिफ्टमार्फत घरमा नै पानी आएपछि भने उनी निकै खुशी छन् । उनले भने, ‘अब सहज रुपमा खानेपानी खान पाइने आशा पलाएको छ ।’

शारदा नगरपालिकाले लिफ्टमार्फत खानेपानी योजना निमार्ण गरेपछि भण्डारी मात्र होइन काजीगाउँका ६५ घरधुरीका बासिन्दा निकै खुशी भएका छन् । गाउँमा खानेपानीको स्रोत नहुँदा यहाँका बासिन्दाले घण्टौको टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता थियो । स्थानीय भरत केसीले भने, ‘खानेपानीको निकै ठूलो समस्या थियो । गाउँमा पानी नहुँदा व्यक्तिगत सरसफाइदेखि एक जनाको पानी बोक्ने काम हुन्थ्यो । अब भने घरभित्रै पानी आएपछि खुशी छौं ।’

मार्केको बाहुनपधेराबाट लिफ्टमार्फत पानी तानिएको छ। झण्डै एक किलोमिटर तल रहेको बाहुनपधेँराबाट काजीगाउँको डाँडोमा विद्युतमार्फत पानी तानिएको उनको भनाइ छ । जिन्दगीभर यही पानीकै लागि कहिल्यै सुत्न पाइएन अव भने बल्ल आनन्दको श्वास फेर्न पाइएको शान्तिमाया थापाले बताइन् । उनले भनिन्, ‘एक गाग्री पानी लिन कम्तिमा एक घण्टा समय खर्च हुन्थ्यो । तर अहिले त्यो समय पनि बचेको छ । सरसफाईमा पनि धेरै सजिलो भएको छ ।’

शारदा नगरपालिका सल्यानको ३२ लाख अनुदानमा योजना निर्माण गरिएको श्याम उदासले बताए । योजना सफल भएसँगै काजीगाउँका ६५ घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका छन् ।
‘एक घर एक धारा’ कार्यक्रम अनुसार काजीगाउँमा लिफ्ट सिस्टमबाट घर घरमा धारा वितरण गरिएको शारदा नगरापालिका प्रमुख सुरेश अधिकारीले बताए । स्वच्छ खानेपानी प्राप्त गर्ने अधिकार सबै नगरबासीको रहेको भन्दै नगर प्रमुख अधिकारीले योजना साकार पार्ने दिशामा नगरपालिका अनवरत लागि रहेको धारणा राखे ।

तपाईको प्रतिक्रिया