उत्तिसको मूढामा फल्यो च्याउ

सल्यान : सल्यानका एक किसानले उत्तिसको मूढामा च्याउ फलाएका छन् । कपुरकोट गाउँपालिका, ४ गाडापानीका किसान टेकबहादुर बुढाले ८ सय उत्तिसका मूढामा सिताके च्याउ फलाएका हुन् ।

उत्तिसको मूढामा च्याउ खेती गरेर उनले आम्दानी बढाउँदै लागेका छन । २०७४ फागुनमा उत्तिस जातको काठ काटेर किसान बुढाले १ हजार मूढा तयार पारेका थिए । एक–एक मिटर लम्बाइको काठलाई ४८ घण्टासम्म पानीमा भिजाएर डेढ इन्चको प्वाल पारेर च्याउको बीउ छरेको उनले जनाए । पहिलो वर्ष च्याउ नउम्रिएपछि उनी निरास बनेका थिए । ‘यस वर्ष भने च्याउले धोका दिएन,’’ उनले हर्षित हुँदै भने ।

तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको सिताके च्याउ खेती अहिले फस्टाउँदै गएको उनले जनाए । च्याउ खेती नौलो भएको र अन्यत्र कतै च्याउ नपाइने भएकाले अहिले उत्पादन भएको च्याउ गाउँघर र स्थानीय बजारमै खपत हुने गरेको छ । बुढाले भने, ‘चार सय रुपैयाँ प्रतिकिलो च्याउ बिक्री हुने गरेको छ ।’ दैनिक बिक्री गर्दा आम्दानी पनि देखिएकाले यसैमा रमाएको उनले बताए । सिताके च्याउ खेती गरिएको उत्तिसको मूढालाई समय–समयमा पुनः पानीले भिजाउनुपर्ने उनी बताउँछन् ।

‘च्याउ एकपटक लगाएपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिन्छ भन्ने सुनेको छु,’ उनले भने, ‘पहिलो चरणमा त झन्झटिलो हुन्छ तर दीर्घकालीन फाइदा हुने रहेछ ।’ उनले आफ्नो च्याउ शतप्रतिशत अर्गा्निक च्याउ भएको दाबी गरे । विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठमा गरिएको पाइए पनि नेपालमा गरिएको अनुसन्धान अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएको जानकारहरू बताउँछन्।

गाँडापानीस्थित आफ्नै बारीमा एउटा छाप्रो बनाएर त्यसभित्रै उत्तिसका मूढामा बुढाले च्याउ फलाएका छन् । मोटोपना घटाउन, रोगप्रतिरोधात्मक क्षमता बढाउन, क्यान्सर सेलसँग भिड्न तथा मुटुरोगमा पनी सिताके च्याउ फाइदाजनक हुने जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया