स्वर्ण पदक जित्नेलाई सरकारले नौ लाख दिने

काठमाडौं : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

बुधवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।
टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।
स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । तर टिम इभेन्टमा रजत र काश्य जित्ने खेलाडीले कति पुरस्कार पाउने घोषणा गरिएको छैन । टिम म्यानेजर र अन्य सहयोगीले रकम के कति पाउने भन्ने पनि घोषणा भएको छैन ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेपछि सबै प्रश्‍नको हल हुने बताए । काठमाडौंमा मंगलवार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।
यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

तपाईको प्रतिक्रिया