दश पालिकामा विद्युतिकरण गरिने

सुर्खेत : कर्णाली प्रदेशका दुई जिल्ला सुर्खेत र दैलेख जिल्लाका दश स्थानीय तहहरुमा ग्रामिण विद्युतिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

कर्णाली प्रदेशलाई आगामी तीन वर्षमा उज्यालो बनाउने अभियानसँगै सुर्खेत र दैलेखका स्थानीय तहमा ग्रामीण विद्युतिकरणको काम सुरु गरिएको हो । दैलेखको महावु गाउँपालिका, नारयण नगरपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिका, भगवतीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको सामुदायिक विद्युतिकरण उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सुर्खेतका भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकामा ग्रामीण विद्युतिकरणको काम अघि बढेको हो । नेपाल सरकारले लिएको लक्ष्य बमोजिम कर्णालीका सबै स्थानीय तहमा विद्युतिकरण गरि उज्यालो बनाइने ज्ञवालीले बताए । विजुली नपुगेको स्थानमा विजुली लिने र असम्भव भएका स्थानमा सोलार वा लघु जलविद्युत उत्पादन गरेर भएपनि गाउँ बस्तीलाई उज्यालो पार्ने अभियान सञ्चालन गरिएको ज्ञवालीको भनाइ छ ।

हाल सिम्ता र गुराँस गाउँपालिकामा काम जारी छ बाँकी स्थानीय तहको विद्युतिकरणका लागि प्राधिकरणले बोलपत्र आव्हान गर्ने तयारीमा छ । हालसम्म महासंघ ५३ जिल्लामा काम गरिरहेको बताउँदै अध्यक्ष ज्ञवालीले गाउँपालिकाको १० प्रतिशत बजेट र संघीय सरकारको ९० प्रतिशत बजेटबाट गाउँमा विद्युतिकरण गरिने जनाए ।

पालिकाहरुले डीपीआर बनाउनु पर्ने, लागत स्टिीमेट निकालेर निर्णय गर्ने र विद्युत प्राधिकरणको सिफारिस आएको खण्डमा छनौट भइरहेका महासंघको भनाइ छ । पालिकाले १० प्रतिशत नगद जम्मा गरेको खण्डमा प्राधिकरणले ठेक्का आव्हान गर्छ र काम सुरु गर्दै आएको ज्ञवालीले बताए । पालिकाहरुका लागि यो कार्यक्रम महŒवपूर्ण भएको बताउँदै सबै पालिकाले यो अवसरको सदुपयोग गर्न उनको आग्रह छ ।

‘कर्णाली प्रदेशका स्थानीय तहमा एक अर्ब भन्दा बढी बजेट विद्युतिकरणकालागि आएको छ’ उनले भने, ‘संसदकोष, प्रदेश सरकार, स्थानीय सरकार, संघीय सरकार सबैको बजेटमा गाउँ उज्यालो बनाउन सकिन्छ । सबैजनाको सहकार्यले यो सम्भव छ ।’ जाजरकोट जिल्लाका केहि स्थानीय तहसँग सहकार्य गरेर विद्युतिकरणको काम अघि बढाउने तयारी भइरहेको महासंघको भनाइ छ ।

तपाईको प्रतिक्रिया