कहाँबाट आउँछ सुर्खेतका राजनीतिक दलहरुलाई खर्च ?

सुर्खेत : न कुनै उद्यम छ । न त कुनै व्यवसाय । तर पनि राजनीतिक दलहरुले तामझामसहित कार्यक्रम र सभा गर्छन् । दलका नेता र कार्यकर्ताहरुले प्रशिक्षण र गोष्ठी पनि संचालन गरेकै हुन्छन् । दैनिक प्रशासन चलाउनेदेखि कार्यालयको खर्च पनि व्यवस्थापन गरेकै हुन्छन् ।

तर राजनीतिक दलहरुले गर्ने त्यो खर्च कहाँबाट आउँछ ? वा कसरी खर्च जुटाउँछन् त दलहरुले ?  अधिकांश दलहरुले शुभेच्छुक र समर्थकको सहयोगमा नै खर्च जुटाउने गरेको दाबी गर्छन् । कतिपय दलले भने चन्दा संकलन गरेर पार्टी संचालन गरिरहेको बताइरहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका प्रमुख दलहरुले कसरी खर्च जुटाइरहेका छन् त ? सुर्खेतका प्रमुख दलहरुको एउटै जवाफ छ,‘सहयोग र चन्दाबाटै पार्टीको खर्च चलाइरहेका छौं ।’ जनताको सेवा गर्नका लागि गठन भएका दलहरुले चन्दा र सहयोग संकलन गरेरै खर्च व्यवस्थापन गरिरहेको बताएका हुन् ।

पार्टीको केन्द्रले दिएको निर्देशन कार्यान्वयन गर्न र जिल्लामा रहेका कार्यकर्तालाई सक्रिय बनाउन पनि आर्थिक चाहिन्छ । नेताहरु कार्यकर्तासम्म पुग्न पनि खर्च नभइ हुँदैन । अझ निर्वाचनको बेलामा त दलहरुबीच खर्चको होढबाजी नै हुन्छ । यस्तो वेलामा हुने खर्चको पनि दलहरुसँग कुनै भरपर्दो स्रोत छैन । अझ दलहरुले आफ्नो आम्दानी र खर्चको समेत हिसाव राख्दैनन् । यसले पनि दलभित्रको आर्थिक अनुशासन र पारदर्शिताबारे प्रश्न उब्जिने गरेको हो । सुर्खेतमा रहेका अधिकांश दलहरुले चन्दा र सहयोगबाटै खर्चको जोहो गरे पनि केही दलमा भने पदाधिकारीबाटै रकम उठाउने गरिएको पाइएको छ ।

अधिकांश दलहरुको आम्दानीका स्रोत भनेका व्यापारी र उद्योगी नै हुन् । आफू निकटका व्यवसायीहरुबाट चन्दा संकलन गरेर उनीहरुले खर्च जुटाउँदै आएका छन् । यस्तै कतिपय दलले भने आझ्ना भातृ संघ÷संगठनलाई चन्दा संकलन गर्न लगाएर रकम संकलन गर्ने गरेको पाइएको हो । सुर्खेतमा हाल १९ वटा राजनीतिक दलहरु निर्वाचन कार्यालयमा दर्ता भएका छन् । उनीहरुमध्ये सत्तारुढ नेकपाले भने आफ्नो संगठित सदस्यबाट मासिक रुपमा शुल्क उठाउँने गरेको छ । यद्यपी तत्कालिन एमाले र माओवादीबीचको एकतापछि हाल यो काम रोकिएको छ । कांग्रेसले भने सहयोगबाटै खर्च चलाउने गरिएको जनाएको छ ।

पार्टीका सदस्यबाट शुल्क
पार्टी एकतापूर्व सुर्खेतमा तत्कालिन एमालेले आफ्ना संगठित सदस्यबाट सदस्यता शुल्क उठाउने गरेको थियो । जिल्लामा झण्डै सात हजार तीन सय जना संगठित सदस्य थिए ।

प्रति सदस्यबाट वार्षिक दुई सय ४० रुपैयाका दरले उसले रकम संकलन गर्दथ्यो । संगठित सदस्यबाट बार्षिक १७ लाख ५२ हजार रकम उठ्थ्यो । यस्तै तत्कालिन माओवादी केन्द्रले पनि आफ्ना झण्डै पाँच हजार संगठित सदस्यहरुबाट शुल्क लिने गरेको थियो । प्रति सदस्यबाट दुई सय ८० रुपैयाँका दरले बार्षिक उठाइन्थ्यो । त्यही रकमले पार्टी सञ्चालन गर्नका लागि खर्च व्यवस्थापन हुन्थ्यो ।

पार्टी एकतापछि भने हाल आफ्ना संगठित सदस्यहरुबाट सदस्यता वापतको शुल्क उठाउने काम बन्द गरेको नेकपा सुर्खेतका कार्यालय सचिव अम्मरबहादुर चन्द बताउँछन् । पार्टी एकतापछि विधानमा प्रति सदस्यबाट मासिक ५० रुपैयाँ लिने उल्लेख छ । नीतिगत रुपमा रोकिएको नभई एकतापछि व्यवस्थापन नहुँदा नयाँ सदस्यता शुल्क वितरण र नविकरणको कार्य रोकिएको नेकपा स्रोतले बतायो । प्रति सदस्य मासिक ५० रुपैयाँ बढी भयो भन्ने प्रश्न उठे पनि कम गर्ने वा यथावत नै राख्ने भन्ने केन्द्रबाट कुनै सर्कुलर नआएको स्रोतको भनाइ छ ।

शुभचिन्तकबाट सहयोग
दोस्रो ठूलो दल नेपाली कांग्रेसका सुर्खेतमा झण्डै १० हजार क्रियाशील सदस्य छन् । उनीहरुबाट बार्षिक एक सय २० रुपैयाका दरले उठाउने गरिएको छ ।


जसमध्ये २० प्रतिशत जिल्लामा राखेर बाँकी ८० प्रतिशत रकम केन्द्रीय कार्यालयलाई पठाउने गरिएको सभापति कमलराज रेग्मी बताउँछन् । उनले योबाहेक पार्टीको अन्य आम्दानीको स्रोत केही नभएको उल्लेख गरे । पार्टीका ठूला कार्यक्रम सञ्चालन गर्दा आफू निकटका व्यवसायी र शुभचिन्तकहरुबाट सहयोग स्वरुप लिने गरिएको उनको भनाइ छ ।

‘चन्दा लिने काम गरिँदैैन्, आमसाभाका कार्यक्रम सम्पन्न भएपछि जम्मा खर्च निकालेर त्यहीअनुसार रकम उठाइन्छ’ रेग्मीले भने, ‘करकाप र त्रास दिएर रकम लिदैनौं, परेको बेला सहयोग मात्रै माग्ने हो, साथीहरुले सहजै सक्दो सहयोग गर्नुहुन्छ ।’ उम्मेदवारको हकमा भने व्यक्तिगत रुपमै आफै रकम खर्च गर्ने परिपाटी रहेको रेग्मीको भनाइ छ । उम्मेदवारले चुनावको बेला पर्चा पम्पप्लेट, झण्डा बनाउनमा रकम खर्च गर्दै आएका छन् ।

प्रायः चुनाव प्रचारप्रसारका क्रममा क्षेत्रीय, नगर, गाउँ र वडाबाट परिचालित हुने भएकाले यति नै खर्च हुन्छ भन्न नसकिने रेग्मीले जनाए । बैठकहरुमा भने पदाधिकारीहरुले नै रकम खर्च व्यहोर्ने परिपाटी छ । तर अधिकांश कार्यक्रममा पार्टीप्रति आस्थावनले नै सहयोग गरेर कार्यक्रम सञ्चालन गरिरहनुपर्ने स्थिति रहेको कांग्रेसको भनाइ छ ।

पार्टीको काममा व्यक्तिगत खर्च
सुर्खेतका अन्य दलहरुले पनि प्रायः व्यक्तिगत खर्चमा पार्टीका काम गर्ने गरेको बताएका छन् । पार्टीको कुनै आयस्रोत नभएकाले आफूहरुले व्यक्तिगत खर्च गरेर पार्टीको काम गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष मानबहादुर खड्काले बताए । पार्टीको मात्र नभइ, भातृ संगठनहरुले पनि आफ्नै लगानीमा खर्च व्यवस्थापन गरिरहेको खड्काले उल्लेख गरे ।

‘थर्काएर चन्दा उठाउने चलन छैन्, सहयोग गर्नुहोस् भन्दा नाईँ भन्नुहुन्न’ खड्का भन्छन्, ‘अधिकांश कार्यक्रम हामीले व्यक्तिगत खर्चमै सञ्चालन गरिरहेका छौं ।’ साना कार्यक्रममा पदाधिकारीले रकम संकलन गर्ने र ठूला कार्यक्रममा सहयोगबाटै पार्टी सञ्चालन गर्दै आएको राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द सुवेदीले बताए । ‘दुईवर्ष पहिले प्रगतिशील देउसी खेलेर रकम उठाथ्यौं’ सुवेदी भन्छन्, ‘पछिल्ला वर्ष त्यो कार्य रोकिएको छ, तर साना कार्यक्रम गर्दा पाकेटबाटै रकम खर्चने र ठूला कार्यक्रम गर्दा शुभ–चिन्तकबाट सहयोग उठाउने गर्छौं ।’

पार्टी कार्यालयको भाडाबाट पनि आम्दानी
सत्तारुढ नेकपा सुर्खेतले घरभाडा वापत मासिक ५२ हजार रुपैयाँ उठाउने गरेको छ । पार्टी कार्यालयका सटरहरु भाडामा लगाएको नेकपाले उक्त रकम आम्दानी गर्दै आएको छ । तर त्यो मध्ये ३८ हजार पार्टी सचिव, कार्यालय सचिव र कार्यालय सहयोगीलाई तलवमै खर्च हुन्छ ।

नेकपा सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही प्रतिनीधि सभाको सांसद भएपछि हाल उनले तलव लिँदैनन् । पार्टीले सञ्चालन गर्ने आमसभामा हुने खर्चको जोहो भने आफू निकटका व्यापारी तथा सरकारी कर्मचारीबाट सहयोग स्वरुप उठाएर खर्च गर्ने गरेको नेकपाको भनाइ छ । बैठक तथा नियमित भेटघाटमै १५ हजारमाथि खर्च हुने भएपछि पदाधिकारीले नै व्यहोर्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार