घुस्रा सडकखण्ड चैत्रमा कालोपत्रे हुने

सुर्खेत : वीरेन्द्रनगरस्थित पिपिरा–अमृतडाँडा एयरपोर्ट–घुस्रा–इन्जिनियरिङ संकाय जोड्ने दुई सडक चैत्रमा कालोपत्रे गरिने लागिएको छ ।  दुवै सडकको झण्डै ७० प्रतिशत काम सकिएपनि चिसो मौसममा तापक्रम नपुग्ने भएपछि चैत्रदेखी कालोपत्रे गरिन लागिएको हो ।

पिपिरा–देउती बज्यै–ढोलढुंगाहुँदै अमृतडाँडा सडक र एयरपोर्ट–नयाँगाउँ–घुस्रा–इन्जिनियरिङ संकाय जोड्ने सडक आर्थिक वर्ष ०७३।०७४ देखी निर्माण थालिएको थियो । तर उक्त सडक संघ वा प्रदेशमा कसले हेर्ने भन्ने अन्यौलका कारण एक वर्ष काम रोकिएको केएसके महालक्ष्मी÷किँरातेश्वर जेभीका सञ्चालक सूर्य रावतले जानकारी दिए । ०७५ फागुनमा मात्रै सडक प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएपछि काम अघि बढेको थियो । म्याद थप गरिएका दुवै सडकमा केही विवाद देखिएले रावतले बताए ।

अमृतडाँडा सडकको पिपिराचौकदेखी देउती बज्यै मन्दिरसम्म स्थानीयले नाला र घरको लेभल एउटै हुनुपर्ने माग राखेपछि झण्डै सातसय मिटरको काम रोकिएको छ । यता एयरपोर्टदेखी इञ्जिनियरिङ्ग संकाय जोड्ने सडकमा जग्गा विवाद, घुस्रामा स्कुलको पर्खाल, वन र विद्युत पोल बाधक बनेको रावतले जनाकारी दिए । बाँकी सडकको कालोपत्रे पूर्वका सबै काम सम्पन्न गरिएको छ । विवाद सुल्झाएमा फागुनसम्म बाँकी काम पनि सक्ने रावतले भनाई छ ।

उनले समस्या समाधान नभए बाँकी सडक चैत्रदेखी कालोपत्रे गर्ने बताए । सरकारले निर्माण व्यवसायीलाई ढुंगा, गिट्टी, बालुवा लगायतका नदी जन्य सामग्री ढुवानी गर्न नपाउँदा सोचअनुसारको काम गर्न नसकिएको रावतले जनाए । सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेश वस्यालले दुवै सडकमा देखिएको विवाद समाधान गर्न लागिरहेको बताए ।

‘जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनीधिसंग विवाद सल्टाउन पहल गरिरहेका छौं’ बस्यालले भने, ‘एक चरणको छलफल सकिएकाले दोस्रो चरणमा समस्या समाधान गरेर रोकिएको सडक काम अघि बढाउने छौं ।’ विवाद देखिएको ठाउँको समाधान गरेर बाँकी काम फागुनसम्म सक्ने र चैत्रमा दुवै सडकको कालोपत्रे काम शुरु गर्ने बस्यालले बताए ।

तपाईको प्रतिक्रिया