परिवार पाल्न वडाध्यक्ष छाडेर शिक्षण पेशा रोजेँ

                                        तस्बिर :  वडाध्यक्ष छाडेर शिक्षक बनेका दिनेशकुमार बुढामगर 
सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले २७ कात्तिकमा पदबाट राजिनामा दिए । प्राथमिक तहमा स्थायी शिक्षकमा नाम निस्किएपछि उनले वडाध्यक्ष पद छाडेर शिक्षक पेशा रोजे । हाल २८ वर्षका बुढामगर नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको चुनाव लडेर वडाध्यक्षमा विजयी भएका थिए । त्यसवेला प्रतिद्धन्दीसँग बराबर मत भएपछि गोलाप्रथाबाट उनी वडाध्यक्ष चुनिन सफल भएका थिए । अंग्रेजीमा स्नातक गरेका बुढामगर हाल स्नातकोत्तर तहमा अध्ययनरत छन् । वडाध्यक्ष पद छाडेर शिक्षण पेशा रोजका उनी यतिवेला दिव्यज्ञान आधारभुत विद्यालय मुस्ताङ्गमा हाजिर भएर पढाउने कामसमेत शुरु गरिसकेका छन् । मुस्ताङ्गमा चिसोका कारण उनले पठाउने विद्यालय घुम्ती विद्यालयको रुपमा पोखरामा झरिसकेको छ   हाल पाेखरामा रहेका दिनेशकुमार  बुढामगरसंग गरिएको कुराकानीको शारास :

१) वडाध्यक्षबाट किन राजीनामा दिनुभयो ?
मैले स्थानीय तहको चुनाव भएदेखि अहिलेसम्म वडाध्यक्षको रुपमा काम गरेँ । त्यही बिचमा शिक्षक सेवा आयोगको जाँच पनि दिएको थिएँ । आयोगमा नाम निस्किएपछि सवैको सल्लाह र मेरो निश्कर्ष पनि वडाध्यक्षभन्दा शिक्षक पेशा नै उत्तम हो भन्ने लाग्यो । स्थायी शिक्षकमा नाम निस्किएपछि वडाध्यक्षबाट राजिनामा दिएँ ।

२) पद पाउनकै लागि मान्छेहरु मरिहत्ते गर्छन, तर यहाँले पाएको पद नै छोड्दा अफ्ठेरो लागेन ?
मलाइ कुनै अफ्ठेरो लागेन । मैले खुशीका साथ वडाध्यक्ष पद छोडेको छु । आखिर राजनिति पनि समाजसेवा हो । त्यसभन्दा शिक्षण पेशा झन् सामाजिक दायित्व वोकेको मर्यादित पेशा हो । मैले रोजेको र चाहेको क्षेत्र भएकोले पनि शिक्षण पेशाले मलाई तान्यो ।

३) यहाँले चुनावमा जनतासँग धेरै बाचा गर्नुभएको थियो, बिचमै राजिनामा दिदा जनमतको अपमान भएन र ?
जनतासँग त्यस्तो बाचा नै त गरेको थिइँन । तर मैले पाँच वर्षे कार्यकालका लागी केही तत्कालिन त केही दिर्घकालिन योजनाहरु बनाएको थिएँ । त्यसमा कतिपय योजना र काम सम्पन्न भइसकेका छन् । कतिपय योजनाहरुको जग बसालेर छोडेको छु । नीतिगत रुपमा धेरै काम गरिएका छन् । बिचमै राजिनामा दिएर हिँड्दा पनि जनमतको अपमान भएको छैन । म त एउटा पवित्र शिक्षाको मन्दिर बनाउने ठाउँमा आएको छु । जनताकै सुझाव, मेरो झुकाव र आफन्तको सल्लाह बमोजिम नै मैले राजिनामा दिएको हुँ । मेरो कदमले जनमतको अपमान गरेको छैन ।

४) जागिरको मोहचाँही किन लाग्यो नी ?
म पहिलेदेखि नै शिक्षा क्षेत्रलाई माया गर्ने मान्छे हुँ । मैले स्थानीय तहको चुनाव हुनुभन्दा पहिला २०७० सालमा पनि पुर्ण तयारीका साथ शिक्षक सेवा आयोगको परिक्षा दिएको थिएँ । तर त्यसबेला मेरो नाम निस्किएन । तर मेरो पुरानो अनुभवले पनि काम गरेको होला, यसपाली नाम निस्कियो । वडाध्यक्ष हुनुभन्दा पहिलादेखि नै मेरो जागिर खाने ठूलो सपना थियो । अहिले आएर त्यो सपना साकार भयो । सानैदेखिको जागिर खाने सपना पूरा भएपछि वडाध्यक्षको पद गौण बन्यो ।

५) वडाध्यक्षको पनि कमाइकाज राम्रै हुन्छ भन्छन, तर यहाँले प्राविको जागिर नै रोज्नुपर्ने कारण ?
जनप्रतिनिधि बनेर कमाइकाज गर्नेहरु पनि होलान् । कसैले राम्रै कमाएका पनि होलान् । तर म कमाउने सपना देखेर वडाध्यक्षको चुनाव लडेको थिइँन । पदमा रहँदासम्म पनि मेरो त्यस्तो सोच आएन । राजनिति भनेको सेवा हो । यसलाई आम्दानीको माध्ययमको रुपमा लिनु हुँदैन । तर मेरो आर्थिक अवस्था र पारिवारिक कारणले तत्कालका लागि मैले राजनीतिमै रहेर सेवा गर्ने अवस्था रहेन ।

मेरो परिवारको आर्थिक अवस्था पनि उच्च होइन । वडाध्यक्ष पदमै रहँदा घरखर्च जुटाउन मुश्किल भयो । फेरी सन्तानको भविस्य पनि हेर्नुपर्यो । परिवारको आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि मेरै काँधमा आयो । राजनीति गरेर अगाडी बढ्दा आर्थिक अभावमा परिवारको बिचल्ली हुने अवस्था थियो । त्यही क्रममा स्थायी जागिरमा नाम निस्कियो । मेरो लागि परिवारको आर्थिक बोझ धान्ने उत्तम विकल्प यही थियो । स्थायी जागिर नै रोज्दा परिवारको आर्थिक पाटो पनि बलियो हुनेभयो । जीविकोपार्जनमा पनि स्थायीत्व हुनेभयो । फेरी राजनीतिमा स्थायीत्व पनि त छैन ।


६) तर यहाँको पार्टी र मतदाताको चाहना त जागिर नखाओस् भन्ने थियो होला नी ?
मैले पार्टीका नेताहरु र मतदाताहरुसँग पनि यसबारेमा छलफल थिएँ । आखिर जहाँ गए पनि समाजसेवा नै गर्ने हो भनेर उहाँहरुले नै मलाइ शिक्षक पेशा रोज्न उत्प्रेरणा प्रदान गर्नुभएको हो । परिवारले त झन् जागिर नखाओस् भन्ने विषय नै भएन ।

७) यसको मतलव यहाँलाई पनि राजनीतिप्रति भरोशा लागेन ?
भरोशाभन्दा पनि राजनीतिभित्र रहेका मानिसहरु पढे लेखेका हुदैनन्, उनीहरुलाई कर्मचारीले परिचालन गर्छन, राजनीतिमा लागेको मानिसले कुनै पनि पेशा व्यवसाय गर्नु हँुदैन, अरु पेशा गर्न पनि सक्दैनन् भन्ने जुन भ्रम छ, त्यसलाई चिर्नका लागी पनि म शिक्षण पेशामा लागेको हुँ ।

८) राजनीतिबाट बाहिरिएपछि अबको सपना के छ नी यहाँको ?
अब शिक्षण पेशाबाट समाजसेवालाई अघि बढाउने योजनामा छु । मैले शिक्षण गर्ने विद्यालय र विद्यार्थिहरुलाई उत्कृष्ट र नमुना बनाउन लागि पर्नेछु । अशल शिक्षक भएर समाज रुपान्तरणमा लाग्ने योजना छ ।

९) अन्त्यमा, शिक्षकबाट अवकाश पाएपछि पुनः राजनीतिमा फर्किनु हुन्छ की ?
अहिले नै त्यो सोच त बनाएको छैन । समय वित्दै जाँदा कस्तो परिस्थीति बन्छ थाहा छैन । त्यो धेरै पछिको कुरा भयो । त्यसैवेला सोचौंला ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार