पाँच सय तलव हुन्थ्यो, छोपेर जागिर खुवाउँथे

डोरप्रसाद उपाध्याय सुर्खेतका पुराना इन्जिनियर हुन । बुवा धनीराम उपाध्याय र आमा पूर्णकला उपाध्यायबाट दोस्रो सन्तानका रुपमा २०२२ साल चिङ्गाड गाउँपालिका वडा नम्बर–५ अवलचिङमा जन्मिएका हुन् । पाँच सय रुपैयाँ तलवबाट सरकारी जागिरमा प्रवेश गरेका उपाध्याय अहिले खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयमा कार्यारत छन् । कक्षा १० पढ्दैगर्दा इन्जिनियर बन्ने सपना देखेका उनी इन्जिनियर पेशा लागेको करिव ३१ वर्षंदेखि पुरा भइसकेको छ । उ बेला जागिर प्राविधिक कर्मचारी पाएपछि प्रधानपञ्चसमेत राजीखुशीले जागिरी दिन तयार हुन्थे । निजामति सेवामा ३१ वर्ष पारगरीसकेका उपाध्यायले जीवनको संघर्षपूर्ण कथा यसरी साटे ।

स्कूलेजीवन र संघर्षपूर्ण बाल्यकाल

उ बेला जो कोहीको पनि बाल्यकाल निकै संघर्षपूर्ण हुन्थ्यो । गाउँघरमा हुने मेलापातभन्दा पनि शिक्षादिक्षाका लागि अझबढी संघर्षपूर्ण थियो । यही कारण मेरो बाल्यकाल दुखदायी बन्यो । गाउँमा औपचारिक शिक्षाको सुरुवात हुँदै गर्दा स्कूलको पाइला चाले ।

उ बेला अहिलेको जस्तो टोलटोलमा स्कूलहरु थिएनन । जसले गर्दा गाउँघरमा मेलापातभन्दा पनि शिक्षा पाउनु नै मेरो लागि ठूलो संघर्ष भयो । किनकी गाउँमा ३ कक्षाभन्दा माथि पढाइ हुने स्कूलहरु थिएनन् । शिक्षा आर्जन गर्नेकै लागि दैलेखको सदरमुकाम (त्यतिबेला चिङ्गाड समेत दैलेखमा पथ्र्याे ।) त्रिभूवन हाइस्कुल जानुपर्ने बाध्यता थियो । शिक्षा आर्जन गर्न दैलेख पुगे ।

तर त्यहाँ दुई वटा बाध्यताले मेरो बसाई लामो हुन सकेन । पहिलो सानो थिएँ । झोलाभरी रासनपानी बोकेर दैलेख पुग्न निकै कठिन हुन्थ्यो । असार साउनमा आउने खोलानालाले बगाउँछ कि भन्ने चिन्ता थियो । दोस्रो कारण म पढाई अब्बल थिए । कक्षा ५ मा स्कूलमा प्रथम भएपछि मलाई दैलेख बस्न निकै कठिन भयो । चिङ्गाडीकेटो दैलेखमा आएर प्रथम हुने भन्दै त्यहाँका साथीहरुले ज्यान लिने योजनाहरु बनाएका थिए । म हिड्ने बाटोमा कुरेर मार्ने योजना बनाउँथे । दैलेख बजारको आफन्तीको घरमा बसेर पढ्थे ।

तर घर फर्किदा बाटोमा कुरेर बसेका हुन्थे । यही कारण दैलेख बसाई मेरो चुनौतिपूर्ण भयो । स्कूल प्रथम भएको थाहा पाएपछि जोरेबाँझका तत्कालिन प्रध्यानाध्यापक (यामलाल कँडेलले) मेरो बारोमा बुवासँग कुरा गर्नुभएछ । पढाई प्रति मेरो लगाव र अब्बलता सुनेर यामलाल सरले नै जोरेबाँझ स्कूलमा ल्याउनु भयो । कक्षा ६ र ७ जोरेबाँझमा पढे । कक्षा ८ देखि एसएलसीसम्म जीवनज्योति मावि दशरथपुरमा अध्ययन गरे । त्यतिबेला जीवनज्योतिबाट म सहित तीन जनाले एसएलसी पास गरौं । यस हिसावले बाल्यकाल र प्रारम्भीक शिक्षा निकै संघर्षपूर्ण थियो ।

भेलतर्दै उच्च शिक्षाको यात्रा
माध्यमिक शिक्षा मात्रै होइन । उ बेला उच्च शिक्षाको लिन पनि कठिन थियो । वीरेन्द्रनगरमा प्राविधिक धारको एउटा पनि विद्यालय थिएन । म वीरेन्द्रनगर आउँदा साथीहरुले जिस्काउँथे । तिम्रो जस्तो राम्रो अंक ल्याएको भए म काठमाडौं पुगेर यस्तो, उस्तो क्याम्पसमा पढ्थे भन्थे । राम्रो अंक ल्याउँदा पनि पढ्नलाई सुर्खेत आउने भनेर हामीलाई हेला गर्थे ।

जसले गर्दा पनि म काठमाडौं जान बाध्य भए । उसो त म कक्षा दशमा पढ्दा देखिनै इन्जिनियर बन्ने सपना थियो । कक्षा दशमा पढ्दै गर्दा दशरथपुरको झोलङ्गे पुल बनाउन आएको इन्जिनियरले सेटस्वाईर, डिस्वाई चलाएर ड्रोइङ बनाईरहेको देखेपछि इन्जिनियर बन्ने आशा पलायो । स्कूलमासमेत शिक्षकहरुले त इन्जिनियर पढ्नुपर्छ भन्थे । किनकी म गणित विषयमा अब्बल थिए ।

गणित विषयमा राम्रो अंक ल्याउनेले इन्जिनियर पढ्न सक्छन् भन्ने धारणा थियो । जसले गर्दा मलाई भित्रैदेखि इन्जिनियर पढ्नु पर्छ भन्ने प्रेरणा मिल्यो । यही प्रेरणाका कारण इन्जिनियर बन्ने सपना बुनेर म उच्च शिक्षा अध्ययनको लागि काठमाडौं पुगे । उ बेला सुर्खेतदेखि हात्तिसारसम्म हिड्नुपथ्र्याे । ज्यान जोखिममा राखेर बबई खोला तर्नपथ्र्याे । कापिकिताव, रासनपानीको झोला नै बोक्न गाह्रो हुन्थ्यो । बलबुद्धिले भ्याएसम्म लरीबुरी गर्दै बबई नदी तथ्र्ये । त्यो समयमा पनि बबइमा पुल बनिसकेको थिएन ।

असार साउनको भेलमा झोला टाउकोमा बाँधेर चिन्नाको भरले बबई नदी पार गर्नुपथ्र्यो । माँझीहरु डोरीको सहायताले बबई पारगराउँथे । हात्तिसार पुगेपछि रात्री बसर (नाइटबस) मा बुटवलसम्म जान्थ्यौ । त्यतिबेला तिनाउ नदीमा समेत पुल थिएन । तिनाउन पार गरेपछि बस परिवर्तन गरेर काठमाण्डौ पुगिन्थ्यो ।

काठमाडौं पुगेपछि मैले पुलचोक क्याम्पसमा आई अध्ययनथाले । उ बेला पुल्चोक क्याम्पस दैशकै एउटा मात्रै इन्जिनियर पढाई हुने क्याम्पस थियो । राम्रैसँग अध्ययन पुरा गरुला भन्ने सोच थियो । तर परीक्षाकै समयमा घरमा बुवाको दुःखद निधन भयो । बुवाको निधनपछि भविष्यका योजनाहरुमा ब्रेक लागे । आर्थिक अवस्था कमजोर हुँदा पढाईमामा समस्या आयो । तर दाजुहरुको सहयोगले आई अध्ययन पुरा गरे ।

रोजगारी
पढाईमा अब्बल भएकै कारण त्यतिबेला मेरो लागि जागिरी खाने कुरा चिन्ताको विषय थिएन । मैले टेष्ट पास गरेपछि अवलचिङ्ग हाइस्कूलमा केही समय अध्यापन गरे । २०४४ सालतिरको कुरा हो खर्कबहादुर रानाले मलाई छोपेर स्कूलमा पढाउनु पर्छ भन्नुभयो । उहाँ र गाउँका अगुवाहरुले हाइस्कूल पढानुपर्छ भनेपछि केही समय त्यही पढाएँ ।

तर मेरो सपना इन्जिनियर बन्ने थियो । जसले गर्दा इन्जिनियर बन्ने उद्देश्यले काठमाडौं पुगे । आईपुरा गरेर फर्केपछि दैलेखबाट २०४५ साल चैत्रतिर सार्वजनिक निर्माण शाखाबाट इन्जिनियरको जागिर सुरु गरे ।

पहिलो तलप पाँच सय रुपैयाँ

उति बेला अहिलेको जस्तो धेरै तलव हुन्थे न । तलवका नाममा तीन चार सय रुपैयाँ हुन्थ्यो । म टेष्ट पास भएपछि केही समय गाउँमै पढाउन थाले । त्यतिबेला मोरो पहिलो तलव पाँच सय रुपैयाँ बुझेको थिए । मलाई अहिले पनि राम्रोसँग याद छ त्यो पाँच सय रुपैयाँ पनि बुवाआमालाई दिए । छोराको तलव भनेर आमाबुवा खुशी भएपनि त्यो पैसा उहाँहरुले मलाई नै फिर्ता गरिदिनु भयो ।

छोराले आफ्नो तलव आफ्नै खुशीले खर्च गरोस् । आफूलाई मन लागेको खावस र लगावस भन्ने सोचेर मलाई दिनु भएको थियो । २०४५ सालमा आई पास गरेर गाउँ फर्कदा समाजका अगुवाहरुले फेरि पनि अवलचिङ्गमै पढाउनुपर्छ भन्थे ।

पढाइमा राम्रो भएका कारण स्कूलमा शिक्षक भयो भने स्कूलको भविष्य राम्रो हुन्छ । हाम्रा बालबच्चाहरु राम्ररी पढ्न पाउँछन् । स्कूलको इज्जत रहन्छ भनेर समाजको धारणा थियो । स्कूलबाटै वीएड, एमएड गरौस तर अनेत्र नजावस भन्ने गाउँलेको चाहाना थियो । मलाई भने इन्जिनियर पढेपछि शिक्षक भएर काम छैन भन्ने लाग्यो । त्यतिबेला दैलेख मामा घर गए ।

त्यहाँ पुगेपछि भक्तबहादुर शाही सभापति हुनुहुन्थ्यो । उहाँले इन्जिनियर पढेको थाहापाएपछि खुशीले अंकमाल गर्नुभयो । हामीले खोजेकै केटा आइपुग्यो भन्नु भयो । उहाँले गएर कुरा गर्दागर्दै नियुक्ती पत्र तयार भयो । अन्ततः केवर्डबाट सञ्चालित कार्यक्रमहरु हेर्नेगरी इन्जिनियर पदको जागिर सुरु गरे । दैलेखमा हुँदा स्थानीयले आफ्नै नातेदार भनेर हुने नसक्ने काम पेलेरै गराउनुपर्छ भन्थे । असार÷साउनतिर हुनै नसक्ने कामहरु पनि गर्नुपर्छ भनेर दवाव दिन थाले । तर मैले स्थानीयको दवाव सहन सकिन । त्यो जागिर बिचमै छोडे ।

जागिरको दौरान
दैलेखको जागिर छोडेर म दोलखा पुगे । त्यतिबेला दोलखामा भूकम्पबाट भत्कीएका संरचना निर्माणको लागि थुप्रै प्राविधिकहरु माग गरिएको थियो । त्यहाँ करिव एक वर्षपछि स्थायी जागिरीको सिलसिला सुरु भयो ।

२०४७ साल बैशाख १० गतेदेखि स्थायी जागिर खाएँ । बहुदलपछि काठमाडौंको सिंचाई विभागबाट स्थायी बुझे र साढे एक वर्ष बाँके रहेर काम गरे । बाँकेपछि सल्यान गए । तत्कालिन एमालेको ९ महिने सरकारको पालामा राष्ट्रिय सिंचाई आयोजनाको रुपमा बबई सिंचाई आयोजनालाई अगाडि बढ्यो । सिचाई विभागले मलाई पनि त्यही आयोजनामा खटायो ।

करिव तीन महिनामा पुथ्रै कामहरु भए । सोही समयमा सल्यानमा ठूलो संकट प¥यो भनेर कार्यालाय प्रमुख बनाएर त्यहाँ खटायो । त्यसपछि सुर्खेतको क्षेत्रीय सिंचाई आयोजनामा ६÷७ वर्ष र जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र धनगढीमा काम गरे । धनगढीपछि करिव चार वर्ष भेरीबबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजन सेवा गर्दै अहिले खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयमा कार्यरत छु ।

सरकारसँगको अपेक्षा
इन्जिनियर जीवन÷मरणको पेशा हो । कुनै पनि आयोजना सर्वेक्षणको समयमा जसरी एउटा सुत्केरी आमालाई पीडा हुन्छ ठिक त्यस्तै पीडा इन्जिनियरहरुलाई हुन्छ । यो एउटा एउटा सामाजिक पेशा हो ।

समाजका चुनौतीसँग जुझ्दै काम गर्नुपर्ने पर्छ । भिरपाखाहरुका ज्यानको् बाजी थापेर हिड्नु गर्नुपर्छ । आयोजना सफल बनाउन ठूलठूला पहराहरुमा झुन्डिएर सर्भेहरु गर्नुपर्छ । तर राज्यले इन्जिनियर र अन्य प्रशासनका कर्मचारीहरुलाई एउटै नजरले गर्दै आएको छ । इन्जिनियर र प्रशासनका कर्मचारीको दर्ज एउटै होइन । यसरी इन्जिनियलाई पनि प्रशासनका कर्मचारीकै हैसियतमा हेरेको देख्दा दुःख लाग्छ ।

त्यस्तै सरकारले इन्जिनियर पेशालाई मर्यादित र सम्मानति पेशा बनाउन सकेको छैन । थुप्रै इन्जिनियर उत्पादन भइरहदा यसको गुणस्तरलाई कायम गर्न सकिएको छैन । २०४५ सालमा निर्माण गरेका संरचनाभन्दा अहिले बनेका संरचनाहरु कमजोर छन् । उ बेला सिमित बजेट र आयोजनाहरु हुन्थे । सरकारले आवाससहितको सुविधा दिएर कार्यस्थलमै इन्जिनियर खटाउथ्यो ।

हरेक गतिविधिमा इन्जिनियरको निगरानीका काम हुन्थ्यो । तर अहिले कनिका छरेका थुप्रै आयोजनाहरु छन् । कनिका छरेजस्तो बजेटमा सुरु गरिएका आयोजनाहरुमा इन्जिनियरले सुपरभाइजर गर्न सकिरहेका छैनन् । राज्यले बजेत अनुसार जनशक्ति व्यवस्थापन गर्न सकेको छैन । अर्काेतर्फ निर्माण व्यवसायीहरुको ध्यान गुणस्तरभन्दा पनि कसरी बढीभन्दा बढी नाफा कमाउने भन्नेमा केन्द्रित छ ।

जसले गर्दा हरेक क्षेत्रमा कमजोर संरचनाहरु निर्माण भएका छन् । संरचना निर्माण गर्दाखेरी समाजका बहुसंख्यक समुदायहरुको भविष्य जोडिएको हुन्छ । तर सरकारले यो कुरा बुझ्दैन । कामको गुणस्तर कायम गर्नेतर्फ ध्यान दिनसकेको छैन । यही कारण इन्जिनियरहरुप्रति राज्यको हेर्ने दृष्टिकोण नै फरक छ । राज्यलेनै यो पेशालाई सम्मानित पेशा बनाउने गरी नीति निर्माणहरु बन्न सकेका छैनन् । सरकारसँग मेरो अपेक्षा भनेको गुणस्तरयुक्त काम गर्ने नीति निर्माण गरोस् भन्ने नै हो ।

सुख, दुःख
इन्जिनियरभित्र पनि सिचाई मेरो फिल्ड हो । जसले गर्दा सिचाईका आयोजनाहरु सफल भएर किसानका खेतहरु हरियाली हुँदा, कुलोबाट २४ घण्टा पानी बगेको देख्दा मलाई आफ्नो पेशाप्रति गौरव लाग्छ ।

जागिरको दौरानमा भेरी बबई आयोजनाका सुरु देखिनै काम गर्न पाउँदा र त्यसले सफलता हात पर्ने क्रममा अघि बढेको देख्दा खुशी छु । सुर्खेतको हकमा जागिरीको सिलसिलामा करिव ५ अर्ब बराबरको भेरी करिडोर सिचाई आयोजना ल्याउन पाउँद सबैभन्दा बढी खुशी छु । भेरी–बबई आयोजना प्रभावितहरुका लागि सुरु हुन थालेको यो आयोजनाले सुर्खेतका सबै स्थानीय तहमा सिचाई सुविधा पु¥याउनेछ । सिंचाईको अभाव हुने ठाउँहरुमा भेरी करिडोर सिंचाई आयोजना सुर्खेतका हितमा बददान सावित हुने छ ।

यो नै जागिरीको सबैभन्दा खुशीको कुरा हो । यसका साथै मेरो अनुसरण गरेर पछाडिका भाई, भतिजा, छोराहरुले प्रगति गरेको देख्दा थप खुशी लाग्छ । गाउँ समाजले पनि शिक्षा, दिक्षाको अनुसरण गरेर अगाडि बढेको देख्दा र आफूप्रति समाजले सम्मान गरेको पाउँदा खुशी हुन्छ ।
मेरो जीन्दगीमा दुई वटा ठूला दुःखका क्षणहरु छन् । परीक्षाकै समयमा वुवाको निधन हुनु मेरो जिन्दगीको सबैभन्दा दुःखको क्षण हो । यदि बुवा हुनुहुन्थ्यो भने मेरो जीन्दगीको अर्काे पाटो सुरु हुन्थ्यो ।

त्यस्तै कार्यालय प्रमुख भएर सल्यान गएको बेला जीन्दगीमा अर्काे दुःखद घटना घट्यो । २०५१ सालतिर धान कुटाउन राइस मिलमा गएको बेला जीवनसंगीनीको टाउको मिलमा प¥यो । जसले गर्दा अहिले पनि उनको उपचार गरिरहेको छु । यी घटनाले मेरो प्रगतिका पाइलाहरु रोकिए । यी दुई घटना मेरा सबैभन्दा दुःखका क्षण हुन ।

अवसकारपछि समाजसेवा

अहिले पनि इन्जिनियर पेशा एउटा सामाजिक पेशा हो । म जागिरपछि पनि कुनै न कुनै हिसावले समाज सेवामा जोडिन चाहाना छु । अवकासपछि पनि विकास निर्माणसँग सम्बन्धित रहेर समाजलाई सेवा गर्न योजना छ । विकास निर्माणमा नीतिगत सुधार र यसलाई गुणस्तरिय बनाउने विषयमा पहल गर्नेछु । विकास निर्माणसँग जोडिने संस्थासँग समन्वय गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया