सामाजिक अन्धविश्वास कायमै हटेन छाउपडी, भत्कीएनन् छाउगोठ

सुर्खेत ।

२०६४/०६५ सालतिर कर्णालीमा छाउगोठ भत्काउने महाअभियान सुरु भयो ।  विभिन्न संघ संस्था र सरकारी निकायले छाउगोठ भत्काउन विभिन्न अभियानहरुको थालनी गरे । तर पनि छाउगोठमा किशोरीको मृत्यु हुने क्रम रोकिएन । किशोरीहरु सर्पको टोकाई र बलात्कारको शिकार बनिनै रहे । यसरी महिलाहरु असुरक्षित भएपछि चेलीहरु बचाउन सरकारले ।

महिनावारीको अवस्थामा ३७.६ प्रतिशत महिला तथा किशोरी नियमति रुपमा सबैले प्रयोग गर्ने शौचालयमा प्रयोग गर्दैनन् भने ८५.५ प्रतिशत दूध तथा दुग्ध पदार्थबाट बनेका खानेकुरा खाँदैनन् ।

‘डराईडराई गोठमा सुत्छु, हप्तादिन राम्रो निद्रा पर्दैन ।’ छाउगोठमा बस्नुपर्दाका पीडा सुनाउँदै पञ्चपुरी ५ की शोभा अधिकारी भन्छिन् ‘बार्नु हुँदैन भन्ने राम्रोसँग थाहा छ तर घर र समाजका लागि गोठमा जानैपर्छ ।’ कक्षा ११ मा पढ्दै गरेकी शोभाले छाउबार्नु हुँदैन भनेर न परिवारलाई सम्झाउन सकिन्छन् नत समाजमा बोल्न सकिन्छन् । ‘छाउ नबारेपछि देउता रिसाएर अनिष्ट हुन्छ भन्छन् ।’ उनी थप्छिन् ‘बाउबाजेदेखि समाजले चलाएको परम्परा मैले कसरी तोड्नु ?’

शोभा जस्तै पञ्चपुरी ४ चौरकी इन्द्रा विसीलाई पनि छाउप्रथाको बारेमा बोल्ने आँट छैन । ‘छाउ नबारे समाजमा पानी चल्दैन ।’ इन्द्रा भन्छिन् ‘समाजबाट अलगीनुभन्दा गोठमै बस्नु जाती ।’ कक्षा १२ मा अध्ययरत उनलाई यो शारीरिक अवस्था हो भन्ने राम्रोसँग थाहाभए पनि छाउगोठमा बस्नैपर्ने बाध्यता छ । ‘छाउ भएपछि भोक र निद्रा विर्सनै पर्छ ।’ इन्द्रा भन्छिन् ‘न मनले मागेको खाना पाइन्छ, नत ढुक्कले सुत्न ।’ विद्यालयमा पोष्टिक आहारा खानुपर्छ भनेर पढ्ने उनले यस्तो अवस्थामा दही, दुध खान त के छुनसम्म पाउँदिनन् । ‘दही दुध खाएपछि बैसीले दुध घटाउँछ भन्छन् ।’ उनले भनिन् ‘समाजले भनेको कुरा मान्नै प¥यो, जान्ने हुनुभएन ।’

पञ्चपुरी ३ पलैटेकी तारा भण्डारीका पिडाभने शोभा र इन्द्राभन्दा अझबढी छन् । ‘छाउगोठमा बस्दा कतिबेला के हुन्छ भन्न सकिन्न ।’ पिडाको पोकाहरु खोतल्दै ताराले सुनाइन ‘पुसमाघको चिसो र असार साउनको झरीमा गोठमा त मर्नुजस्तै हुन्छ ।’ छाउहुँदा स्वास्थ्य र मानसिक अवस्थामा कमजोरको अनुभूति हुने उनको भोगाई छ । ‘छाउगोठमा सधै असुरक्षित हुन्छाँै ।’ ताराले भन्छिन् ‘पहिले कुकुरबिराला र सर्पबाट जोगिन पथ्र्याे अहिले मान्छैबाट पनि बच्नुपर्छ ।’

शोभा, इन्द्रा र तारा मात्रै होइन छाउगोठमा बस्ने हरेक दिदीबहिनीको पिडाको उनीहरुको जस्तै छ । कर्णालीसहित पश्चिम नेपालमा छाउप्रथा अझै कायमै रहदा यहाँका महिलाहरुले जोखिम मोलर छाउगोठमा बस्न बाध्य छन् । छाउगोठ भत्काउन विभिन्न सरकारी तथा गैरसरकार संघसंस्था अभियाननै चलाएपनि अधिकाँस जिल्लाहरुमा यो छाउपडी हट्न सकेको छैन ।

‘अभियानका क्रममा छाउगाठ भत्काएपछि दिदीबहिनीहरु अझ असुरक्षित भए ।’ पञ्चपुरी २ का सामाजिक अभियन्ता पदम खनाल भन्छन् ‘गोठ भत्किएर के गर्नु दिमागमा छाउ कायमै छ ।’ छाउगोठ भत्काइएपछि कोही खुल्ला आकास त कोही घाँस राख्ने दलिमा बस्दै आएको खनाल बताउँछन् । ‘पुरोहित र ब्रामणका घरमा आधुनिक छाउगोठ बनेका छन् उनीहरुलेनै गाउँमा छाउबार्नुपर्छ भन्न् । खनाल थपछन् ‘गाउँघरमा अप्रिय घटना भयो कि छाउ नबार्नेलाईनै दोष दिइन्छ ।’

छाउपडी अछामको कोशेली

सुर्खेतको पश्चिममा २०६० सालतिर अछाम र दैलेखबाट बसाईसरी आएको बस्ती छ । पश्चिमका जामु, कुइने, बाबियाचौरी, पलैटे, लगाम र बेतानका बस्तीहरुमा छाउपडी हट्न सकेको छैन । जहाँ पुराना छाउगोठ भत्काएपछि आधुनिक छाउगोठ बनेका छन् । जुन हेर्दा गाईबस्तुलाई घाँस राख्ने दलिन जस्ता देखिन्छन् तर त्यही कटेरालाई किशोरीहरुले छाउगोठको रुपमा प्रयोग गर्दै आएका छन् । त्यहाँका जनप्रतिनिधिहरु पनि भोट घट्ने डरले छउपडी बिरुद्ध बोल्न डराउँछन् । छाउ नबारे घरका देवता रिसाउने र अप्रिय घटना हुने सामाजिक अन्धविश्वास छ । जसका कारण कतिले सर्पको टोकाइबाट अकालमै ज्यान गुमाएका छन् भने कति बलात्कारको शिकार बन्ने गरेका छन् ।


टोलटोलमा गौलमेच सम्मेलन

उपेन्द्रबहादुर थापा
मेयर÷पञ्चपुरी नगरपालिका, सुर्खेत

मानिस २१ सांै सताब्दीमा प्रवेश गर्दा पनि अहिले पनि हाम्रो समाजमा छाउपडी कायमै रहेको छ । विभिन्न सममा छाउगोठ बसेकै कारण दिदीबहिनीको मृत्यु हुँदा पनि समाजले यो सामाजिक अन्धविश्वास हो भन्ने बुझेको छैन । हामी निर्वाचित भएदेखिनै छाउपडी निवारणका लागि नगरपालिकाबाट विभिन्न अभियानहरु थालेका छौँ ।

पहिलो चरणमा पुजारी र जैसी, धामीझाँक्रीलाई तीन दिने तालिम दियौं । छाउपडी बार्न लगाउने र नबार्दा देउता रिसाउँछन् भन्नेलाई कानूनी कारबाही गर्ने चेतावनी पनि दिऔं । त्यस्तै विद्यालयदेखि स्वास्थ्य संस्थाका कर्मचारी र जनप्रतिनिधिलाई छाउपडी सामाजिक अन्धविश्वास मात्रै हो भनेर तालिम र सचेतना मूलक कार्यक्रम गरौं । तर पनि समस्या च्यूकातिउ रह्यो ।

हिजोआज टोलटोलमा परिवारका सदस्यहरुबीच गोलमेच सम्मेलन राख्दै आएका छौं । छाउगोठ छोरीचेलीहरु जतिसुकै असुरक्षित भएपनि समाजमा जरो गाडेर बसेको छाउपडी उन्मूलन हाम्रो लागि चुनौतीपूर्ण बनेको छ । जतिसुकै सचेतना फैलाउँदा पनि बुढापाले विगतदेखि मान्दै आएको संस्कारलाई छोड्न हिचकिचाइउँछन् । यसको एउटै कारण भनेको अशिक्षा हो ।

त्यस कारण हामीले विद्यालयमै हप्ताको दुई दिन छाउपडी सम्बन्धी कक्षा अनिवार्य गर्ने सोच बनाएका छौं । छाउपडी न्यूनिकरणका लागि नगरपालिकाले हरेक वर्ष जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

विद्यालय उमेरकै किशोरी छाउगोठमा

कर्णालीमा ६ देखि १२ कक्षाका ७७ प्रतिशत किशोरी छाउगोठ बस्दै आएका छन् । कर्णालीका जिल्लामा छाउपडीका विषयमा काम गर्दै आएको एक्सन वर्क नेपाल (एवन) र बी ग्रपले गरेको एक अध्ययनअनुसार महिनावारी भएको अवस्थामा २८ प्रतिशत किशोरी विद्यालय जाँदैनन् । यस्तै ४८ प्रतिशत किशोरी रजश्वला भएका बेला सामाजिक समारोह वा भेलामा सहभागिता जनाउन सकिरहेका छैनन् । विभिन्न समयमा सैगरी ७७.२ प्रतिशत किशोरी तथा महिला महिनावारी भएको समयमा घरभित्र पस्दैनन् भने ९१ प्रतिशत जना भान्सा कोठामा। ७१ प्रतिशत किशोरी र महिलाले महिनावारीको समयमा असुरक्षित महसुस गर्ने गरेका छन् भने, ५३ प्रतिशत किशोरी र महिलाहरु धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागि जनाउँदैनन् । महिनावारीको अवस्थामा ३७.६ प्रतिशत महिला तथा किशोरी नियमति रुपमा सबैले प्रयोग गर्ने शौचालयमा प्रयोग गर्दैनन् भने ८५.५ प्रतिशत दूध तथा दुग्ध पदार्थबाट बनेका खानेकुरा खाँदैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार